Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरसियाले नेपालको रेल यातायात विकासमा लगानी गर्ने

रसियाले नेपालको रेल यातायात विकासमा लगानी गर्ने


काठमाडौं । रसिया नेपालको रेल यातायातको अध्ययन तथा विकासका लागि लगानी गर्न इच्छुक देखिएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्ने इच्छा देखाएको हो ।

रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ । भेटका क्रममा मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताउनुभएको थियो । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको दाबी गर्दै मन्त्री नेम्वाङले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयारी बारेका दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको बताउनुभएको थियो । रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको मन्त्री नेम्वाङको दाबी थियो ।

जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको छ । रुसी महासङ्घको सहयोगमा निर्माण भएका कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिललगायतका परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ