Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News७१ औँ प्रजातन्त्र दिवस : नेतालाई मस्ती, जनतालाई महंगी र सास्ती

७१ औँ प्रजातन्त्र दिवस : नेतालाई मस्ती, जनतालाई महंगी र सास्ती


काठमाडौं । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गर्दै देशभर प्रजातन्त्र दिवस मनाइएको छ । काठमाडौंको टुडिखेलमा संघीय सरकारले विशेष समारोहको आयोजना गरेर ७१औँ प्रजातन्त्र दिवस मनाएको छ भने देशभर विविध कार्यक्रम भए ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । तर, प्रजातन्त्र प्राप्तिको ७० वर्ष पूरा भएर ७१ वर्ष लाग्दा पनि राजनीतिक दलहरूबीच प्रजातन्त्रको सैद्धान्तिक विषयमै भएको विवादले जनता भने निराश छन् । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि बहुमत राजनीतिक दलहरू प्रजातन्त्र माथिको प्रहार भन्दै सडक संघर्षमा उत्रिएका छन् ।

क–कस्ले के–के भने ?

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको हो ।

उपराष्ट्रपति पुनको असन्तुष्टि
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको स्मरण गराउनुभएको छ । पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको उपराष्ट्रपति पुनले बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपरेको तथ्यलाई समेत उपराष्ट्रपति पुनले स्मरण गराउनुभएको छ ।

प्रधानमन्त्रीले भने संविधान मिच्दैनौँ, मिच्न पनि दिन्नौँ
७१ औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतान्त्रिक बाटो नबिराउने दाबी गर्दै संविधान नमिच्ने र मिच्न पनि नदिने बताउनुभयो । देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उहाँले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं ।’

कांग्रेस सभापति शेरबाहादुर देउवाको शुभकामना
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीमा प्रजातन्त्रको शुभकामना दिनुभएको छ । फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहासको प्रारम्भ भएको गौरवमय दिन भएको दाबी गर्दै देउवाले संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ ले बिशेष उर्जा प्रदान गर्ने विश्वास व्यक्त समेत गर्नुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्रको शुभकामना
पूर्वराजा ज्ञानेन्द्र शाहले सबै एकजुट भएर देशको अग्रगमनमा जुट्नुपर्ने समयमा निशेध र प्रतिसोधको राजनीति सुरु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रजातन्त्र स्थापनामा ७१ वर्षमा जनजीविकाको सवाल कमजोर भएको जनाउँदै ज्ञानेन्द्रले घुमाउरो पाराले राजसंस्था पुनःस्थापनामा जोड दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ