Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकृषि उत्पादन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंक

कृषि उत्पादन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंक


काठमाडौं । नेपालमा ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ पहिलो पटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको छ । शंकरनाथ उप्रेतीको अध्यक्षतामा गठन भएको बैंकले कृषि क्षेत्रमा ठूलो लगानी गरी अर्गानिक कृषि प्रणालीलाई जोड दिँदै देशलाई आत्मर्निभर बनाउने उद्देश्य अघि सारेको छ ।

बैंकले देशका ७७ वटै जिल्लाहरुमा कृषि उत्पादन र बजारीकरण गर्ने छ । खाद्य बैंकले पैसाको कारोबार नभएर कृषिसम्बन्धी सम्पूर्ण कारोबार गर्नेछ ।’ बैंकले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दशी दुध, माछा मासु, जडिबुटीलगायतका उत्पादनमा समेत बैंक सक्रिय हुने बताइएको छ । बैंकले प्रयोग नभएको सरकारी, सामुदायिक वा गुठीका जग्गाहरु लिजमा लिएर खाद्य उत्पादनको काम अगाडि बढाउने योजना अघि सारेको छ । बैंकले तराईका १४ वटा जिल्लाहरुमा जग्गा लिजमा लिई उत्पादन कार्य सुरु गरिसकेको र झापा, मोरङ, सुनसरी जिल्लामा १ हजार ४१ बिघा र लमजुङमा ५ सय ५० रोपनी जग्गा लिजमा लिने सहमति भएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

बैंकले पाइलट प्रोजेक्टका रुपमा हरेक प्रदेश, जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा विकसित गर्दै लैजाने र यसका लागि छिट्टै बैकले आइपीओ जारी गर्ने जानकारी गराएको छ । हालसम्म खाद्य बैंकमा ४९१ जना संस्थापक सेयर सदस्य रहेका छन् । बैंकले आगामी चैत्र १५ गतेभित्र औपचारिक उद्घाटन गर्ने तयारी थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ