Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमार्च २८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने

मार्च २८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने


काठमाडौं । अब त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घट्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८) बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुने भएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले उडान–अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको जानकारी दिनुभयो । त्रिभुवन विमानस्थल अब बिहान साढे ६ बजे खुलेर रातको साढे १२ बजे बन्द हुनेछ । रातको समयमा उडान–अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ । अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढ्दा अन्तर्राष्ट्रिय उडान बृद्धि हुन सकेका छैनन । अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान भरिरहेको छ ।

दैनिक औसत २३० उडान–अवतरण हुँदै

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान–अवतरण हुँदैआएका छन् । यी मध्ये १५ उडान मात्रै अन्तर्राष्ट्रियतर्फ हुँदा १ सय १५ हाराहारी आन्तरिक उडान रहेका छन् । त्यति नै संख्यामा जहाज अवतरण गर्दा यो संख्या २३० पुग्दै आएको छ । आन्तरिक उडानमा यात्रु संख्या समेत सन्तोषजनक भएपनि अन्तर्राष्ट्रिय उडानमा भने सोचेजति यात्रु बढ्न सकेका छैनन् । अध्यागमन विभागको आकडाले सरदर दैनिक १२, १३ सय यात्रुले अन्तर्राष्ट्रिय उडान र अवतरण भर्ने गरेको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ