Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज महाशिवरात्रि, पशुपति, साँगासहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

आज महाशिवरात्रि, पशुपति, साँगासहित देशभरका शिवालयमा भक्तजनको घुइँचो


काठमाडौं । महाशिवरात्रि पर्व विधिपूर्वक आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा बिहानैदेखी शिवको पूजा आराधना गर्नेहरुको घुइँचो लागेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वाससहित हिन्दू धर्मावलम्बीहरु बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधनामा व्यस्त भएको जानकारी दिनुभयो । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहदैआएको छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई खाने गरिन्छ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा यो दिनलाई मनाउँदै आएका छन् । पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान हुनेगर्दछ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

चार बजे नै खुले पशुपतिका चार ढोका
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको जानकारी दिनुभयो । पशुपतिनाथ दर्शनका लागि लाईन, जुत्ताचप्पल सबैको व्यवस्थापन मिलाएर मन्दिर परिसर प्रवेश गरेको पाँच मिनेटमा दर्शन गरिसक्ने व्यवस्था मिलाईएको बताइएको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । हरेक वर्ष काठमाडौंकै डोलेश्वर लगायतका धाम र देशभरका शिवालयमा पुगेर लाखौँलाखले महाशिवरात्रीको पूजाआराधना गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ