Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकरिब एक वर्षपछि अमेरिका चीन वार्ता, कहिले हट्ने तिक्तता ?

करिब एक वर्षपछि अमेरिका चीन वार्ता, कहिले हट्ने तिक्तता ?


एजेन्सी । जो बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता भएको छ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण चिसिएको अमेरिका चीन सम्बन्ध सुधारको अपेक्षा गरिएको वर्तामा दुबै तर्फका उच्च अधिकारीले एकअर्काको तीव्र आलोचना गरेका छन् । अलास्कामा भएको वार्तामा अमेरिका र चीनले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका हुन् ।

चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाउँदा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषयमा प्रश्न उठाएको थियो । आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी र चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी थिए । वार्ता तनावपूर्ण भएको खबर बाहिरिएपनि अमेरिकी अधिकारीले भने झण्डै दुई घण्टासम्म भएको वार्ता बस्तुपरक, गम्भीर र निकास उन्मुख रहेको दाबी गरेका छन् । गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनको दाबी थियो । जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको, मानवअधिकारको अवस्था अमेरिकामा अति नै न्यून रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार गरेको भन्दै आलोचना गरेका थिए ।

बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा नरहेपनि आफ्ना नागरिक र साथीहरुका लागि भने अडिग भएर लाग्ने बताएका थिए । सञ्चारमाध्यमकै सामुन्ने एक घण्टा भन्दा बढि अमेरिका र चीनका अधिकारीबिच आरोप–प्रत्यारोप चलेपनि त्यसपछि बन्द कोठामा भएको वार्ता भने सकारात्मक बनेको बताइएको छ । अमेरिका र चीनका अधिकारीबिच गएको जुन यता भएको यो नै पहिलो उच्च तहको वार्ता हो । डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र चीनबिचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको र बाइडेन प्रशासनले सम्बन्ध सुधार गर्ने विश्वास गरिदैगर्दा अवस्था थप नाजुक बन्ने आँकलन गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ