Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleअस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी : अध्ययन

अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी : अध्ययन


एजेन्सी । कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी भएको प्रमाणित भएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणबाट खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरिएको हो ।

अध्ययनकर्ताहरुका अनुसार अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको छ । परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी देखिएको छ । अधिकारीहरुले यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाबाट पुष्टि भएको जानकारी गराएका छन् । अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्ड्रले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित भएको दाबी गर्नुभएको छ । यसअघि युरोपेली मुलुक लगायत कतिपय मुलुकहरुले खोपको प्रभावकारीता र उपयोगिताप्रति शङ्का गर्दै खोप लगाउन रोकिरहेका बेला सार्वजनिक भएको यो नतिजाले खोप लगाउन छाडेका मुलुकहरुले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ ।

कतिपय देशहरुले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गरेसँगै फेरि लगाउन थालेका छन् । विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरुले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिदा कतिपयले यो खोपप्रति शङ्का उब्जाइरहेका छन् । पछिल्लो परिक्षण नतिजाले भने त्रसित भएकाहरुलाई फेरि ढुक्क भएर खोप लगाउन प्रेरित गरेको छ ।

तस्वीर : रोयटर्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ