Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना भाइरसविरुद्धको खोप वितरणमा असमानता रहेको भन्दै डब्लुएचओको आपत्ती

कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमानता रहेको भन्दै डब्लुएचओको आपत्ती


काठमाडौं, एजेन्सी । धनी र गरिब देशबिच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको गम्भीर असमानतालाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपत्ती जनाएको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस शनिबार (अप्रिल १०) भित्र विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको भन्दै गम्भिर आपत्ती जनाउनुभएको हो ।

खोप वितरणमा भइरहेको असमानता अस्वीकार्य रहेको भन्दै डब्लुएचओले लगातार कोरोना भाइरसविरुद्धको खोपको समतामुलक वितरणमा लागि आवाज उठाउँदै आएको छ । खोपको समान वितरणका लागि सुरु गरिएको कोभ्याक्स अभियानको डब्लुएचओले नेतृत्व गर्दै आएको छ । सो अभियान अन्तर्गत हालसम्म विश्वका झण्डै एक सय देशमा तीन करोड ८० लाख मात्रा खोप वितरण भएको छ । कोभ्याक्स अन्तर्गत एक वर्षभन्दा कम अवधिमा १९० देशमा खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य लिइएको छ । कोभ्याक्सले विश्वका ९२ गरिब देशका नागरिकले अरु धनी देशकाले जस्तै सोही अवधिमा खोप प्राप्त गरुन् भन्ने उद्देश्यका साथ काम सुरु गरेपनि कोभ्याक्स बाहेकबाट सहयोग भएको पाइएको छैन । डब्लुएचओका प्रमुख डा. टेडरोजले भन्नुभएको छ, ‘खोपको विश्वव्यापी वितरणमा अहिले गम्भीर असमानता छ । धनी देशमा औषतमा चारमा एकजनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । तर गरिब देशमा यो अनुपात पाँच सयमा एक छ ।’

कोभ्याक्स अभियान अन्तर्गत मार्च अन्तिमसम्ममा १० करोड मात्रा खोप वितरण गर्ने लक्ष्य राखिएपनि तीन करोड ८० लाख मात्रा वितरण भएको छ । डा. टेडरोजले अप्रिल र मे मा लक्ष्य भेट्टाउन सक्ने अपेक्षासहित अघि बढेको जानकारी दिनुभएको छ । अहिलेसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, चिली, बेलायत, बहराइन, अमेरिका, सर्बिया, हंगेरी, कतार, सिंगापुरसहितका देशमा खोप अभियान राम्रो गतिमा चलेको छ भने अधिकांश देशमा सोचेजस्तो खोप अभियानले गति लिन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ