Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको पर्यटन : लाङ्टाङ र गोसाइँकुण्डमा बढ्न थाल्यो पर्यटकको चहलपहल

नेपालको पर्यटन : लाङ्टाङ र गोसाइँकुण्डमा बढ्न थाल्यो पर्यटकको चहलपहल


रसुवा, काठमाडौं । वसन्त ऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि पुग्ने पर्यटकहरुको संख्यामा बृद्धी हुन थालेको छ । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत वेशभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी लगायतको अवलोकनका लागि पुग्ने पर्यटकको संख्यामा बृद्धी भएको हो । यो उपयुक्त समय भएकाले पनि पर्यटकको आगमन बढ्न थालेको स्थानीयले बताउन थालेका छन् ।

पदयात्राको लागि दैनिकजसो सरदरमा २०\२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा रहेको रसुवाका पर्यटन व्यवसायीहरु बताउँछन् । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भइ स्नान गर्न सहज वातावरण भएकाले पनि अधिकांश पर्यटकहरु गोसाइँकुण्डतर्फ केन्द्रित भएको पाइएको छ । भगवान शङ्कर विराजमान रहेको र कुण्डमाथीका अग्ला हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र नभएर यो क्षेत्रमा विदेशी पर्यटकको भ्रमण समेत बाक्लो हुने गरेको छ ।

पथप्रर्दशक राजु गुरूङले समेत विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइ गोसाइँकुण्ड रहेको जानकारी दिए । एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रुसी पर्यटकको समूह धुञ्चेमा भेटिएपछि फोटो खिच्नेको लर्को नै लागेको थियो । गत हप्ता मात्रै केही विदेशी पर्यटकले गोसाइँकुण्ड भ्रमण गरेका थिए । नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालीसकेको भन्दै पिसीआर परीक्षण गराएर सुरक्षित तरिकाले पर्यटकलाई भ्रमण गराइएको जानकारी दिए ।

धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खाने बस्ने व्यवस्था मिलाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा शुल्क निर्धारण गरेको छ । सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । रसुवाको भ्रमणमा खान बस्न लगायतका कुनै समस्या झेल्नुनपर्ने होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जानकारी दिनुभयो ।

नेपालको तेस्रो पर्यटकिय गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा अहिले पनि पर्यटकको आवतजावत भैरहेको छ । अबका दिनमा पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षासहित तयारीमा स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु व्यस्त हुन थालेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ