Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsई–कमर्शमाथी चीनको कडा नियमन, अलिबाबामाथी झण्डै तीन अर्ब डलर जरिवाना

ई–कमर्शमाथी चीनको कडा नियमन, अलिबाबामाथी झण्डै तीन अर्ब डलर जरिवाना


एजेन्सी,एएफपी । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गराएको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि यति ठूलो कारबाही गरेको हो ।

चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले गत डिसेम्बरमा सुरु गरेको अलिबाबामाथि को अनुसन्धान निष्कर्षका आधारमा उक्त जरिवाना गरिएको जनाइएको छ । अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र एकाधिकार कायम गर्नेगरि पहुँच दिएको अनुसन्धानबाट खुलेको थियो । एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेर अन्य व्यवसायीमाथीको प्रतिबन्ध कायम राखेको पाइएको छ ।

कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको, व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायको दाबी छ । ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना भएको थियो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । अहिलेको जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो ।

अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जानकारी गराइसकेको छ । सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि अलिबाबाले गरेको छ । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तिब्र बनाइएको थियो । अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा आक्रोशित भएका थिए । अलिबाबासँगै अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पनि केही समयदेखि चीन सरकारले छानबिन अघि बढाएको छ ।

चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालिएको छ । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।

चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गूगल माथि पनि देश भित्र र बाहिरबाट छानबिन र अनुसन्धान सुरु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ