Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफर्केर हेर्दा : २०७७ सालमा नेपालमा के के भयो ?

फर्केर हेर्दा : २०७७ सालमा नेपालमा के के भयो ?


काठमाडौं । विश्वव्यापी स्वास्थ्य समस्या भएको कोरोना कहरकाबीच सुरु भएको वर्ष २०७७ कोरोनाकै अर्को लहरको त्रासदीबीच बिदा भएको छ । कोरोना कहर मात्रै नभएर वर्ष २०७७राजनीतिक रुपमा समेत उथलपुथलको बर्ष बन्यो ।

विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ सालमा केही सम्झनलायक कामहरु पुरा भएका छन् । वर्षान्ततिर सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउने अभियान सुरु गरिएको छ । पूर्वाधार निर्माणको सम्भाब्यताको लेखाजोखा नभएपनि सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्वको सडक आयोजनाहरुको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको वर्ष ०७७ मा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी वितरण नै थालिएको छ । कोरोना कहरले विश्वलाई आक्रान्त बनाइरहेको समयमा कोरोना विरुद्धको खोप बनेको छ भने भाइरसविरुद्धको खोप लगाउने काम नेपालमा समेत वर्ष २०७७ बाटै सुरुवात भएर जारी छ ।

कोरोना कहर, जनधनको नोक्सानी र खोप
२०७६ साल चैत ११ देखी नै कोरोना महामारि रोकथामका लागि लकडाउन गरियो । बर्ष ०७७ बन्दाबन्दी र अन्यौलबीच सुरु भएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा पनि धेरै जनधनको क्षति भयो । ६ महिनाभन्दा लामो समय लकडाउन सामना गर्नुपर्यो । आर्थिक तथा पर्यटन गतिविधि रोकिँदा बेरोजगारी र गरिबी बढ्यो । अर्थतन्त्र कमजोर बन्यो । कोरोनाबाट तीन हजारभन्दा धेरैको ज्यान गएको नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार पुगेको छ । कोरोनाकै कारण तीन खर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भइसकेको छ भने फेरी कोरोना सङ्क्रमण बढ्न थालेको छ । यसबाट जनजीवन थप प्रभावित बन्दैछ ।

हुन त, विकसित मुलुकहरुमा खोप लगाउन सुरु हुँदा नहुँदै नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भयो । भारतले अनुदान स्वरूप दिएको १० लाख मात्रा कोरोना खोप मार्फत सुरुभएको खोप अभियानलाई निरन्तरता दिन सरकारले भारतसँग २० लाख लाख मात्रा खोप किन्यो । १० लाख डोज आएपनि १० लाख मात्र आउने प्रक्रियामा रहेको छ । भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख मात्रा र चीनले दिएको आठ लाख मात्रा कोरोना खोप नेपाल आएको छ भने पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ कर्मचारी हुँदै प्राथमिकता र जोखिमका आधारमा खोप लगाउने क्रमले निरन्तरता पाइरहेको छ ।

मेलम्चीको पानी काठमाडौंमा, अन्य आयोजना सुरु
२२ वर्षको मेहनतपछि मेलम्ची खानेपानी आयोजना मार्फत मेलम्चीको पानी फागुन २२ मा सुन्दरीजल आइपुग्यो । योसँगै चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाका उपभोक्ताका धारामा झारियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्नुभएसँगै पानी वितरणले थप तिब्रता पाउँदैआएको छ । यो आयोजनाका लागि झण्डै ३१ अर्ब खर्च भएको छ । भने अन्य २ खोलाको पानी समेत सुन्दरीज ल्याउने बारे बहस सुरु भएको छ ।

यस्तै माघ २ देखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण सुरु भएको छ । माघ २५ मा देशकै दोस्रो ठूलो विद्युत् प्रसारण लाइन २ सय २० केभीको दाना विद्युत् सबस्टेशनको निर्माण पुरा भएको छ । फागुन २० मा राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले चैत १ मा एकैपटक २ सय १० पालिकामा सडक निर्माणको शुभारम्भ गरेका छन् । चैत १६ मा पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको छ । चैत २१ मा प्रधानमन्त्री ओलीले सबै निर्वाचन क्षेत्रलाई जोड्ने १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गरेका छन् ।

नयाँ नक्सा सार्वजनिक
कोरोना महामारीबीच वैशाख २६ देखि संसद्को अधिवेशन सुरु भयो । वैशाख २७ गते भारतले एकतर्फी रूपमा लिपुलेकसम्म भारतीय सडक विस्तार गरेकोमा आपत्ति जनाएको नेपालले २९ गते भारतलाई कुटनीतिक नोट पठायो । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा कालापानी क्षेत्र फिर्ता लिन दलीय सहमति जुट्यो । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा आव २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा छुटेको नेपालको भूमिसहितको नक्सा जारी गर्ने प्रतिबद्धता व्यक्त भयो भने जेठ ५ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा स्वीकृत ग¥यो । जेठ ७ मा नेपालको संशोधित नयाँ नक्सा सार्वजनिक गरियो ।

प्रतिनिधि सभा विघटन र राजनीतिक द्धन्द्ध
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले पुस ५ गते अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेसँगै प्रधानमन्त्रीले ताजा जनादेश लिने निर्णय गरेर संसद् विघटन गरे । यो निर्णयसँगै नेकपा विभाजनतिर गयो । प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिए । प्रधानमन्त्री ओलीले पुस १० गते आफ्नो पक्षमा आएका माओवादी सांसदहरूलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार र फेरबदल गरे । यसपछि सुरु भयो, राजनीतिक आन्दोलन । प्रचण्ड नेपाल समूहसँगै, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको कदम बिरुद्ध देशव्यापी आन्दोलन गरे । अर्कोतिर प्रधानमन्त्री ओलीले नै आफ्नो कदमको बचाउ गर्दै सत्तामै बसेर दलहरुको कदम बिरुद्ध आन्दोलन गरे । कोरोनाको डरले बालुवाटारबाट सिंहदरबार टेक्नै छाडेका प्रधानमन्त्री ओली भाषणका लागि भने देशव्यापी आमसभामा पुगे । यसपछि नेकपामा आधिकारिकताको विषय झन् पेचिलो बन्यो । नेकपाका दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिक आफू भएको दाबी पेस गरे पनि निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षको दाबी अस्वीकार गर्दै दुवैलाई आधिकारिकता दिएन । बरु यसले नेकपाभित्र थप द्धन्द्ध बढायो ।

नाम विवादसम्बन्धी मुद्दामा फागुन २३ गते सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणलाई राजनीतिक फैशला गर्दै मान्यता दिएन । दुवै दल अस्तित्वमा आए । ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आधिकारिक मान्यता पायो । सर्वोच्चको फैसलाअनुसार फागुन २५ मा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पुरानै मान्यता दिएपछि नेपाली राजनीतिमा थप अन्यौल सुरु भयो ।

सर्वोच्चद्वारा प्रतिनिधि सभा पुर्नस्थापना
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परे । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको पक्ष र विपक्षमा लामो बहस भएर फागुन ११ गते संवैधानिक इजलासले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वसम्मत फैसला ग¥यो ।१३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सरकारका नाममा परमादेश जारी भएसँगै सरकारले फागुन २३ गते पुनस्र्थापित प्रतिनिधि सभाको बैठक बोलायो । बैठक सुरु भए पनि दलहरूबीचको बिवाद र मनमुटाब अन्त्य भएन । बरु बैठक शोक प्रस्ताव पारितमै सीमित भैरह्यो ।

राजनीतिक उथलपुथल
२०७७ साल राजनीतिक हिसाबले उथलपुथलको वर्ष बन्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद, समानान्तर गतिबिधि हुँदै विभाजित दलको हैसियतसम्म पुग्यो । तीन वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भइ बनेको पार्टी यति छिटो विभाजित हुन्छ भनेर कसैले सोचेका थिएनन् । पार्टीभित्र नेतृत्व विवाद चरमोत्कर्षमा पुगी प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर नयाँ चुनाव घोषणा गरे । सर्वोच्चमा परेका रिटमाथी फैशला गर्दै संवैधानिक इजलासले विघटित प्रतिनिधि सभा पुनस्र्थापन गरेपछि प्रतिनिधि सभाको कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीलाई विघटन गर्ने विशेषाधिकार नहुने सर्वोच्चको फैसलाले नयाँ राजनीतिक तरङ्ग ल्यायो ।

अझ, ठूलो तरङ्ग त सर्वोच्चको अर्को फैसलाले ल्याइदियो, जसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणलाई नै अमान्य बनायो । अर्थात नेकपाका रुपमा एक बनेका नेकपा एमाले र माओवादी केन्द्र नै विभाजित गरिदियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत अवस्थामा फर्किए । पूर्ववत् अवस्थामा फर्किएपछि दुवै पार्टी आन्तरिक विवादमा फसेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेपछि माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्ने क्रम बढेको छ भने माओवादी केन्द्रले पनि ओलीलाई साथ दिने मन्त्री र नेताहरूलाई कारबाही गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ । केन्द्रदेखी प्रदेशसम्म नयाँ सत्ता समिकरणको खेल चल्दा अदालतको फैशलाबाट अस्थित्वमा आएको नेकपा एमालेकै नेपाल खनाल समूह अहिले समानान्तर पार्टी गतिबिधिम गर्दैछ भने प्रधानमन्त्री ओली कारबाहीसहित आफ्नो कदमको पक्षमा अडिग रहँदा एमाले नै बिभाजनउन्मुख बन्दैछ ।

विप्लव शान्तिपूर्ण राजनीतिमा
सरकार र नेकपा विप्लव समूहबीच फागुन २० मा तीन बुँदे सहमति भएसँगै यो समूहमाथि लगाइएको प्रतिबन्ध हट्यो । फागुन २१ गते प्रधानमन्त्री ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हस्ताक्षर गरी दुवै नेताले एउटै मञ्चमा सम्बोधन गरे । अहिले विप्लब नेतृत्वका नेकपा शान्तिपुर्ण राजनीतिक गतिबिधिमा आएसँगै पक्राउ नेता कार्यकर्ता रिहाई भएका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा भदौ २ गते निधन भयो । प्राकृतिक विपत्तिका कारण २०७७ सालमा अरू केहीले पनि ज्यान गुमाउनुप¥यो। भदौ ३ गते बाढी पहिरोमा परी अछाम, बाजुरा र बझाङमा १० जनाको ज्यान गयो भने ११जना बेपत्ता भए । भदौ १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका १ बोबाङको भुजीखोलामा आएको बाढीले बस्ती नै बगाउँदा १४ जनाको ज्यान जानुका साथै कैयौँ बेपत्ता भए । भदौ २८ गते सिन्धुपाल्चोकमा पहिरोमा ११ जनाको ज्यान जानुका साथै कैयौँ बेपत्ता भए । बाढी पहिरो र डढेलोको प्रकोपले यो वर्षपनि हजारौँ नागरिकलाई सताएको छ ।

कृषी बलीमा सलह किराको प्रकोप
अफ्रिकाबाट भारत हुँदै नेपाल छिरेको सलह किराले अन्नबालीमा क्षति पु¥यायो । भारतबाट विभिन्न झुण्डमा असार १३ मासलह किरा नेपाल भित्रिएका थिए । सलहको झुण्डले कृषि बालीमा पु¥याएको क्षतिले किसानलाई मानसिक र आर्थिक रूपमा नोक्सानी पु¥याएको थियो । बाराको निजगढ र सर्लाहीको नवलपुरबाट भित्रिएका सलह किरा बालीमा ठूलो नोक्सानी गर्दै तराईबाट पहाड हुँदै हिमालसम्म पुगे । सलहले नेपालमा ठूलो क्षती नगरेपनि भारत, पाकिस्तान, इरान, केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियालगायतका देशलाई प्रभावित बनाएको थियो ।

नेपाल भ्रमण वर्ष असफल
सरकारले देशको आर्थिक वृद्धिदर बढाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० मनाउने तयारी गरेको थियो । तर चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिन सुरु भएको कोभिड–१९ कोरोना भाइरसले नेपालमा पनि ठूलो नोक्सानी पु¥यायो । सन् २०२० को सुरुवाती महिनामै नेपालमा कोरोनाको पहिलो सङ्क्रमण पुष्टि भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका सबै कार्यक्रम रोकिए । बरु २०७६ सालको चैत ११ गतेबाट सुरु भएर पटक–पटक थपिएको बन्दाबन्दीले नेपाल भ्रमण वर्ष २०२० असफल भयो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण
बाह्र वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराए । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा तत्कालीन एमालेका नेता ओली भारतको एपोलो अस्पताल गएका थिए । यसपछि बैंकक र सिङ्गापुरमा उपचार गर्दै आएका प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि भने नेपालकै सरकारी अस्पताल रोजे । पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी अञ्जनाले मिर्गौला दिइन भने दोस्रो पटक ओलीलाई भान्जी नाता पर्ने समीक्षा सङ्ग्रौला ज्ञवालीले मिर्गौला दिइन ।

चलचित्र क्षेत्र ठप्प
विश्वभर फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा मनोरञ्जनको क्षेत्रमा पनि ठूलो नोक्सानी पुग्यो । हलहरू बन्द भएर चलचित्रहरू प्रदर्शन हुन नसक्दा करोडौँको लगानी जोखिममा प¥यो । वर्षभरि नै हलहरु ठप्प रहे ।वर्षान्ततिर हलहरू खुलेपनि कोरोनाको त्रास र नयाँ फिल्म नभएकाले दर्शकको पातोल उपस्थिति भयो । हलहरू राम्ररी चलायमान हुन नपाउँदै वर्षान्तबाट कोरोनाको अर्को लहरको त्रासदी बढ्न थालेको छ ।

खेल क्षेत्रमा महत्वपूर्ण उपाधि
नेपालले २०७७ सालमै त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपाल बङ्गलादेशलाई दुई–एकले हराउँदै च्याम्पियन बन्यो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको थियो । खेल हेर्नका लागि प्रधानमन्त्री ओली स्वयम् रङ्गशाला पुगेका थिए । यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । २०७७ को सुरुवाती समय बन्दाबन्दीमा बितेपनि फुटबल र क्रिकेटका विभिन्न लिगहरु वर्षान्ततिर सुरु भएर सम्पन्न भए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ