Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशी भूमिमा जोखिम : १२ वर्षमा ९ हजार बढी नेपाली श्रमिकको ज्यान गयो

विदेशी भूमिमा जोखिम : १२ वर्षमा ९ हजार बढी नेपाली श्रमिकको ज्यान गयो


काठमाडौं । पछिल्लो समय विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दो क्रममा देखिएको छ । रोजगारी गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै नेपालीले ज्यान गुमाउने मुलुक बनेको छ, मलेसिया ।

वैदेशिक रोजगार बोर्डको अभिलेख अनुसार आर्थिक वर्ष ०६५\६६ देखि चालु आर्थिक वर्षको चैतसम्ममा मलेसियामा मात्रै ३ हजार ८२१ जना नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै वैदेशिक रोजगारीमा गएका ९६९ जनाको विभिन्न कारणले ज्यान गएको छ । यीमध्ये २३८ जनाको त मलेसियामै मृत्यु भएको छ । गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका ६३० जनामध्ये १७७ जना नेपाली मलेसियामा ज्यान गुमाएकाहरु नै थिए । बोर्डका निर्देशक राजन श्रेष्ठका अनुसार आर्थिक वर्ष २०६५\६६ देखि हालसम्म वैदेशिक रोजगारी ९ हजार २३७ जनाको ज्यान गएको छ । हृदयघात, प्राकृतिक कारण, आत्महत्या, कार्यस्थल हुने दुर्घटना र सवारी दुर्घटनाका कारण नेपाली श्रमिकहरुको बिदेशमा ज्यान गएको पाइएको छ ।

परिवारमा बिछोड र पीडा
गत चैत २२ गते नेपाल एयरलाइन्सको जहाजले वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ नेपालीको शव एकै साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेको थियो । घरपरिवार छाडेर पैसा कमाउन मलेशिया पुगेका तर उतै अकालमा ज्यान गुमाएकाहरुको शव विमानस्थलमा आइपुग्दा २२ परिवारका सदस्य र आफन्तहरूको भावविह्ल अवस्था देखिन्थ्यो । हुन त, पछिल्लो सामय विमानस्थलमा शव बुझ्न आएकाहरुमा देखीने हृदयविधारक दृश्य नौलो भने होइन । यस्ता हृदयविधारक घटनाहरु बारम्बार देख्नु र भोग्न परिरहेको छ ।

नेपाली कामदारहरूका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्स (युएई) हुन् । सामान्य लेखपढ गरेका र लेखपढ नै नगरेकाहरू पनि रोजगारीका लागि यी मुलुकमा पुग्ने गर्छन् । वैदेशिक रोजगारीमा रहँदा परिवारसँगको विछोडले हुने एक्लोपन, मानसिक तनाव, कार्यस्थलको तनावका जस्ता कारणले श्रमिकहरू आत्महत्याको अवस्थामा पुग्ने गरेको मनोविद्हरूले बताउने गरेका छन् । यस्तो जोखिम निम्न तथा निम्न मध्यम वर्गीय परिवारका लागि वैदेशिक रोजगारको लोकप्रिय गन्तव्य बनेको मलेसिया सबैभन्दा बढी देखिएको छ ।

रोजगारीको अवसर खोज्दै हरेक वर्ष ५ लाखसम्म नेपाली युवा विश्वको श्रम बजार पुग्ने गरेको सरकारी आँकडा छ । यद्यपी एकिन आँकडा भने सरकारले अझसम्म राख्न सकिरहेको छैन । रोजागरीका क्रममा मलेसियामा मात्र प्रतिदिन सरदर एक व्यक्तिको ज्यान जाने गरेको आँकडा छ ।
वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटाउन के गर्ने ?
मृत्युदर घटाउन पूर्वप्रस्थान अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ । यस्तो तालिममा श्रमिकले गन्तव्य मुलकको भाषा, रहनसहन, धर्मसस्कृति, कानूनी व्यवस्था लगायतका विषयमा जानकारी दिइन्छ । दुर्घटना कम गर्न मनोसामाजिक परामर्श पनि अनिवार्य आवश्यकता बनेको वैदेशिक रोजगार बोर्डका निर्देशक राजन श्रेष्ठ बताउनुहुन्छ । दुई वर्षअघि कोरिया रोजगारीमा आत्महत्या गर्नेको संख्या अचानक बढेको र कोरिया जाने नेपाली कलाकारसँग सहाकार्य गरेर मनोरञ्जनसँगै मनोसामाजिक परामर्श गराएपछि यसले सकारात्मक प्रभाव पारेको उहाँको दाबी छ ।

विदेश जानेका लागि सीप तथा अभिमुखीकरण तालिम अनिवार्य गर्न सकेमा मृत्युदरमा कमी आउनेमा मनोचिकित्सक समेत आशावादी छन् । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारीमा समेत बोर्ड जुटेको छ । नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भएर अहिले कार्यान्वयनको चरणमा छ । सोक्सोमा आबद्ध भएपछि प्रत्येक महिना श्रमिकको आधारभूत पारिश्रमिकको १ दशमलव २५ प्रतिशत बराबर रकम रोजगारदाताले आफ्नो तर्फबाट सोक्सो कोषमा जम्मा गरिदिनुपर्नेछ । श्रमिक सूचीकृत भएपछि करार अवधिभित्र कार्यस्थलमा दुर्घटनामा परेमा र बिरामी भएमा उपचारको व्यवस्था सोक्सोले गरिदिन्छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कामदारको मृत्यु भएमा निजको परिवारलाई नेपाल सरकारले ७ लाख रुपैयाँ आर्थिक सहायता दिने कानुनी व्यवस्था रहेको छ । यसैका आधारमा हालसम्म ९ हजार ३३ जनाले सहायता रकम बुझेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ