Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनियम फेर्दै यातायात व्यवस्था विभाग, ४ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

नियम फेर्दै यातायात व्यवस्था विभाग, ४ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा


काठमाडौं । लाइसेन्सको ट्रायल पास गरेर स्मार्ट लाइसेन्सको पखाईमा अहिलेपनि चार लाख बढी सेवाग्राही छन् । बर्षौदेखि लाखौँ उपभोक्ता कहिले स्मार्ट लाइसेन्स आउछ भन्दै कुरेर बस्दा यातायात ब्यवस्था बिभाग भने नयाँ नयाँ नियम लागू गराउन उद्धत देखिएको छ । सधैं यातायात कार्यालयमा स्मार्ट लाइसेन्स आयो कि भन्दै पुग्ने सेवाग्राहीले हप्ता महिना भन्दा भन्दै बर्षौ पर्खिनुपर्ने बाध्यता छ ।

यो स्मार्ट लाइसेन्सको चाप थेग्न नसकेको यातायात ब्यवस्था बिभाग भने ऐनमा भएको पूरानो ब्यवस्था लागू गराउने कसरतमा यतिबेला लागेको छ । यातायात ऐनअनुसार कुनै पनि व्यक्तिले ट्रायल पास गर्ने बित्तिकै तुरुन्तै स्मार्ट लाइसेन्स दिन मिल्दैन । एक वर्षका लागि सवारी चालकलाई परीक्षणकालीन लाइसेन्स दिनुपर्ने ब्यवस्था रहेको छ । तर, यो ब्यवस्था अहिलेसम्म कतै लागू भएको थिएन् । यसलाई लागू गराउन बिभाग यतिबेला आएर तम्सीएको छ । लाइसेन्स ट्रायल पास भएपछि सवारी चालकसँग ’पास’ भनेर लेखिएको रसिद मात्रै हुन्छ । स्मार्ट लाइसेन्स नआउन्जेल चालकका लागि यही रसिदलाई सवारी अनुमति पत्र मानिन्छ । यहि पासका भरमा यतिबेला लाखौ ब्यक्तीले सवारी साधान चलाइरहेका पनि छन् ।

स्मार्ट लाइसेन्स समयमै प्रिन्ट गर्न नसकेकै कारण अव समस्या समाधान गर्न यातायात व्यवस्था विभागले ’परीक्षणकालीन लाइसेन्स’ वितरण गर्ने तयारी गर्दैछ । लाइसेन्स पास भएपछि चालकलाई एउटा पिभिसी कार्ड वितरण गरिनेछ जसमा ’परीक्षणकालीन लाइसेन्स’ भनेर लेखिनेछ । हुन त ट्रायल पास भएपछि पाउने रसिदको पनि एक वर्ष मान्यता हुन्छ । तर, बोक्न असहज र व्यवस्थित तरिकाले राख्न समस्या हुने भएपछि चालकको सहजताका लागि यो प्रावधान लागू गर्न लागिएको बिभागको दाबी छ । जेठ १ गतेदेखि लागू हुने यसलाई ब्यवस्थित बनाउन परीक्षणकालीन लाइसेन्सको अवधिभर यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा परे स्मार्ट लाइसेन्स नदिने र सुरुदेखि प्रक्रिया थाल्नुपर्ने ब्यवस्था गरिएको छ । परीक्षणकालीन समयमा कुनै पनि खालको ट्राफिक कारबाहीमा नपरे वा पाँचभन्दा कम पटक परेको खण्डमा बल्ल स्मार्ट लाइसेन्स पाउने व्यवस्था ऐनमा उल्लेख छ । यसरी दिइएको स्मार्ट लाइसेन्सको अवधि थप चार वर्षको हुनेछ । आउँदो जेठ १ गतेदेखि ट्रायल पास भएका चालकलाई राजस्व तिरेको रसिदसँगै पिभिसी कार्ड वितरण गर्ने जनाइएको छ ।

झट्ट हेर्दा सामान्य आइडी कार्डजस्तो देखिने यो पिभिसीको नक्कली प्रिन्ट हुने जोखिम पनि उच्च छ । नियन्त्रणका लागि उक्त कार्डमा क्युआर कोड हुनेछ । ट्राफिकले यही क्युआर कोडका आधारमा लाइसेन्स जाँच गर्नेछन् । जसमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन् । यसबाट नक्कली पिभिसी कार्ड पनि छुट्टिने बताइएको छ । जेठ १ गतेदेखि नै नयाँ मापदण्डअनुसार ट्रायल परीक्षा सञ्चालन गर्ने पनि विभागको तयारी छ । सवारी दर्ता, लाइसेन्स परीक्षा सञ्चालन, लाइसेन्स वितरण जस्ता कामको जिम्मेवारी प्रदेश सरकार मातहातका २३ वटा यातायात कार्यलयबाट हुन्छ । तर स्मार्ट लाइसेन्स प्रिन्ट सम्बन्धी प्रशासनिक जिम्मेवारी यातायात व्यवस्था विभागले नै लिएको छ । पछिल्लो समय लाइसेन्स सम्बन्धी थुप्रै गुनासो परिरहेका छन् । फारम भर्नै लामो समय कुर्नपर्ने, भरे पनि लिखित र ट्रायलमा समय लाग्ने र अन्ततः ट्रायल पास भएपछि पनि लाइसेन्स पाउन महिनौं कुर्नुपर्ने जस्ता गुनासो थुप्रै सुनिदै आएका छन् ।

बिभागसँग स्मार्ट कार्ड प्रिन्ट गर्ने मेसिन एक सेट छ । चौबीस घन्टा चलाउँदा, दैनिक दुई हजार वटासम्म प्रिन्ट गर्न सक्छ । तर लाइसेन्सका लागि चाहिने स्मार्ट कार्डको स्टक पनि सकिएपछि झनै समस्या आएको थियो । तर, अहिले फेरि सुचारु भएको छ । पटक–पटक नयाँ नयाँ नियम ल्याउदा सेवाग्राहीले सेवा भन्दापनि बढी सास्ती पाइरहेका छन् । सुधारको प्रयास भइरहेको छ भन्दै सधै बाहना खोज्ने यातायात बिभाग फेरि ऐनमा भएको पुरानो ब्यवस्था लागू गर्दैछ । यसले सेवाग्राहीलाई झुक्याउने, अल्झाउने र सास्ती दिने काम नहोस् । आम सेवाग्राहीले विभागसँग प्रश्न गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ