Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै कोरोनाको जोखिम, अस्पतालमा बेड पाउनै मुस्किल !

नेपालमा बढ्दै कोरोनाको जोखिम, अस्पतालमा बेड पाउनै मुस्किल !


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बृद्धी भएसँगै जोखिम पनि बढ्न थालेको छ । यसैलाई मध्यनजर गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य बेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन् ।

यस्तो अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्ने भन्दै मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको हो । संक्रमित बढ्दै गएपछि सहज रुपमा बेड पाउन मुस्किल छ । होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ ।
कोरोना अस्पताल र सम्पर्क व्यक्तिको नम्बर :

केछ, उपत्यकाका अस्पतालको अवस्था ?
चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत संक्रमण दर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार भैरहेको छ । अहिले उपत्यकामा ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन, त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालका बेडहरु कोराना संक्रमितले भरिन थालेका छन् ।

शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर संक्रमितले भरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो । यहाँका ५५ आइसोलेशन शैया पनि भरिएका छन् । दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै संख्यामा बिरामी यो अस्पताल पुगिरहेका छन् । यो अस्पतालमा सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई नभई अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामी भर्ना गरिएको डा. राजभण्डारीले बताउनुभयो ।

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको शैया भरिन थालेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष र पाँच भेन्टिलेटर पूरै भरिएको जानकारी दिनुभयो । वीरमा ७६ आइसोलेशनमध्ये ६६ जना संक्रमित रहेका छन् । यहाँ दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको डा. कार्कीले बताउनुयो ।

यस्तै सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० शैयामध्ये सबै भरिएको जानकारी दिनुभयो । संक्रमित बढ्दै गएपछि अस्पतालले थप ४० शैया थप गरेको छ । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटरमा पनि अहिले संक्रमितको उपचार जारी छ । श्वास फेर्न गाह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको यो अस्पतालमा अधिकांश ४०–५० उमेर समूहका संक्रमित रहेको बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु) मा उपचाररत छन् । यो अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । संक्रमित संख्या बढेसँगै यहाँ ५० आइसोलेन शैय्या थपिदैछन् । पाटन अस्पतालमा पनि कोभिड–१९ का बिरामीको चाप अन्य अस्पताल जस्तै छ । यहाँ पनि अब थपिने संक्रमितहरुले बेडा पाउने अवस्था देखिदैन ।

संक्रमण पहिलोभन्दा संक्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले आग्रह गर्नुभएको छ । कोभिड–१९ को अहिलेको लहरमा संक्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको भन्दै जनस्वास्थ्यविद्हरुले विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले संक्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ । अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा संक्रमण सारेको सरुवारोग विशेषज्ञहरुले दाबी गरिरहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, बाँके र रुपन्देहीमा अहिले ५ सय भन्दाबढी संक्रमित उपचाररत छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ