Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना : भयावह अवस्थामा समेत सरकारी बेवास्ता, यी जिल्लामा निषेधाज्ञा !

नेपालमा कोरोना : भयावह अवस्थामा समेत सरकारी बेवास्ता, यी जिल्लामा निषेधाज्ञा !


काठमाडौं । नेपालमा शनिबार साँझदेखी आइतबार साँझसम्मको २४ घण्टामा ३ हजार १२२ जना नयाँ कोरोना संक्रमित थपिए, थप २८ जनाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणका क्रममा ३०३२ र ७८६ एन्टिजेन परीक्षणबाट ९० जना संक्रमित थपिएका थिए ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । यीमध्ये १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा र १५९४ जना मात्रै देशका विभिन्न अस्पताल अर्थात संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका ६२ जना र १० देखि १९ वर्षसम्मका २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक बालबालिका र युवाहरुमा संक्रमण बढ्दै जानुले थप जोखिमको आँकलन गराएको छ ।

पछिल्लो एक हप्तामा थपिएका संक्रमितको अवस्थाले नेपालमा कोरोना संक्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको देखाएको छ । स्वास्थ्य तथा सामुदायिक अस्पताल धुलिखेलका निर्देशक डा. विराजमान कर्माचार्य यो वृद्धिदर विश्वकै उच्च रहेको बताउनुहुन्छ । अहिले विश्वमा कोरोना सङ्क्रमणको वृद्धिदर १० प्रतिशत छ । भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशतले कोरोना संक्रमण बढेको छ । यसकारण पनि हामी गम्भिर जोखिममा छौँ भन्दै जनस्वास्थ्यविद्हरुले सरकार र नागरिकलाई स्वास्थ्य मापदण्डसहित भौतिक दूरी पालना गर्न गराउन बारम्बार सुझाब दिदै आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सुझाबसहितको सिफारिस गरेको छ । मन्त्रीपरिषद वैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गरेसँगै जोखिममा रहेका जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्नेछन् ।

निषेधाज्ञा जारी हुनसक्ने जोखिमका जिल्ला
संघीय राजधानी काठमाडौंउपत्यकासहित मुलकुभरका ९ जिल्लामा निषेधाज्ञा जारी हुनसक्ने आँकलन गरिएको छ । बाँकेमा आइतबार रातीदेखी लागू हुनेगरि निषेधाज्ञा जारी भैसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरका ७७ जिल्लामा सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ रहेकोमा ९ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् । सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय २८ रहेको छ । दोस्रोमा बाँकेमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३९ बाट उकालो लागेको छ । पछिल्लो तथ्यांक अनुसार ललितपुरमा १ हजार ३ सय ५१, रुपन्देहीमा १ हजार ३ सय १३, पर्सामा ६ सय ४३, भक्तपुरमा ६ सय १३, कास्की ६ सय १३, मोरङमा ५ सय ६१ र दाङमा ५ सय ५७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पाँच सयभन्दा कम तर २ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लाको संख्या नै ४ पुगेको छ । कैलालीमा ४ सय ३४, चितवनमा ३ सय ९६, सुर्खेतमा ३ सय ७३ र बर्दियामा २ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । दुइ सय नजिक सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या २ रहेको छ । कञ्चनपुरमा १ सय ९९ र पाल्पामा १ सय ८३ सक्रिय संक्रमित छन् ।

थप जोखिमको आँकलन
स्वास्थ्य तथा सामुदायिक अस्पताल धुलिखेलका निर्देशक डा. विराजमान कर्माचार्य नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुनु हाम्रो समुदायमा सक्रमण व्यापक छ भन्ने संकेत भएको बताउनुहुन्छ । अहिलेकै हिसाबले संक्रमित बढ्दै गए अबको केही हप्तामै दैनिक १ सय ५० जनाको ज्यान जानसक्ने र तीन महिनामा झण्डै दुई लाख जनामा संक्रमण हुनसक्ने डा. कर्माचार्यको आँकलन छ । नेपालमा संक्रमण दरसँगै मृत्युदर समेत बढ्दो क्रममा छ । चिकित्सकहरुले स्वघोषित लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने, शंका लागेमा समयमै कोभिड १९ को जाँच गर्ने, होम आइसोलेशनको सुदृढिकरण गर्ने, स्वस्थ्य संस्था तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्नुपर्ने, समुदाय र सम्बन्धित निकायको तयारी तीव्र गरेर जाखिमबाट बच्न सुझाब दिएका छन् ।

आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । बालबालिका र युवाहरुमा संक्रमण उच्च देखिनु र आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको संख्या समेत बढ्नु उच्च जोखिमको संकेत हो । अझ, १९ हजार ३८२ सक्रिय संक्रमित मध्ये १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा रहनु र १ हजार ५९४ जना मात्रै देशका विभिन्न अस्पतालमा उपचाररत रहदा नै बेड अभाव हुनुले कोरोना र नागरिकको स्वास्थ्यमा सरकारको चरम बेवास्ता उजागर गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ