Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबिहिबार विहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा, घर फर्किनेहरुको भीडभाड

बिहिबार विहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा, घर फर्किनेहरुको भीडभाड


काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ७ बजेदेखि निषेधाज्ञा जारी हुँदैछ । निषेधाज्ञाको पूर्वजानकारी गराइएसँगै गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा घर फर्कनेहरुको भीड लागेको छ । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका छोड्नेहरुको चाप बढेको हो ।

सरकारले कम्तीमा वैशाख मसान्तसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुहरुको भिडभाड बढेको छ, यो क्रमले बुधबार रातीसम्म निरन्तरता पाउने आँकलन गरिएको छ । वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा लगाउने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । गत बर्ष अकस्मात भएको लकडाउनले ज्याला मजदुरी गर्ने सर्वसाधारण मारमा परेका थिए । हजारौँ नागरिकहरु केही दिनसम्मको पैदल यात्रा गरेर गृहजिल्ला फर्किएका थिए । यस पटक भने सरकारको केही दिनको समयसिमा राखेर निषेधाज्ञा घोषणा गरेसँगै घर जानेहरु हतारिएका छन् । घर फर्किनेहरुको भिडमा अधिकाशं काठमाडौ उपत्यकामा पढाइको शिलशिलमा बसेका विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्नेहरु बढी पाइएका छन् ।

कोरोना संक्रमण बढेपश्चात काठमाडौ उपत्यकामा जारी हुन लागेको निषेधाज्ञाका कारण पहिले जस्तो खानबस्न समेत समस्या हुने भएपछि घर फर्किन लागेको यात्रुहरु बताउँछन् । यस्तै, भक्तपुरको साँगा, दक्षिणकाली र थानकोट नाका हुँदै काठमाडौं उपत्यका छोड्नेहरुको भिडभाड पनि बढी देखिन्छ । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात बिहिबार बिहान ७ बजेबाट उपत्यकामा निषेधाज्ञा गर्ने निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्य तर्फ लागेका छन् । काठमाडौँ उपत्यकका तीनैवटा प्रमुख जिल्ला अधिकारीको संयुक्त पहल र मन्त्रीपरिषदको निर्णयसँगै दुई दिन यात्रुलाई घर जाने समय दिइएको जानकारी गराइएको छ ।

नयाँ बसपार्कमा टिकट काट्ने र बस कुर्नेहरूको भीडभाडसँगै कोरोनाको जोखिम बढेको छ । नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात चल्ने भएकाले अधिकांशले घर फर्किदा यहाँ पुग्नैपर्ने बाध्यता रहेको छ । कोरोना संक्रमण दैनिक बढ्दा कहिलेसम्म लकडाउन हुन्छ भन्ने टुंगो नभएकै कारण गृहजिल्ला फर्किन लागेको यात्रुहरुले बताउनेगरेका छन् । घर फर्किनेहरुको भिडभाड बढेपछि टिकट पाउन नै मुस्कील भएको गुनासो समेत आउन थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ