Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एनआरएनएका अभियन्तामाथी कुटपिट, यस्तो छ कारण

सिड्नीमा एनआरएनएका अभियन्तामाथी कुटपिट, यस्तो छ कारण


सिड्नी । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारी र यसका अभियन्ताहरुको रात्रीभोजमा एक जनामाथी कुटपिट भएको छ ।सिड्नीस्थित रकडेलमा रहेको भुरभुरे मम पसलमा गत शनिवार राति एनआरएनए अभियन्ता सरोज पाण्डेमाथी कुटपिट भएको हो ।कुटपिटबाट पाण्डेको टाउकोमा चोट लागेको छ ।

नेपालट्युबसंग कुरा गर्दै एनएसडब्लु राज्य समितिका पुर्व पदाधिकारी समेत रहेका पाण्डेले आफुमाथी केही व्यक्तिले सिसाको बोतल, प्लेट र काटा चम्चाले आक्रमण गरेको बताउनुभयो । शनिवार सिड्नीमा एनआरएनए अष्ट्रेलियाले व्यवसायीहरुको भेला आयोजना गरेको थियो । भेला सकेर ३० जना जति रकडेलमा मम लगायत डिनर गर्न पुगेका थिए । रेष्टुरेन्टले मदिरा बिक्री नगरेपनि उक्त समुहका केही व्यक्तिले आफैले मदिरा लगेर सेवन गरेको एक प्रत्यक्षदर्शीले नेपालट्युबलाई जानकारी दिए । डिनरकै क्रममा सरोजले एनआरएनएमा गुटबन्धी र राजनीतिक दलको प्रभाव बढ्दै गएकाले आफु जस्ता अभियन्ताहरु पीडित हुन थालेको भन्दै गुनासो गरेका थिए ।

गुनासो कै क्रममा अर्का एक नेताले प्रतिवाद गरेको सरोजको भनाई छ । वादविवाद चर्काचर्कीमा पुगेपछि एक जनाले आफुलाई समातेको र अन्य केही व्यक्तिले पछाडीबाट प्लेट र काटा चम्चाले टाउकोमा हिर्काएको सरोजको दाबी छ । सिसाको बोतलले टाउकोमा हान्नै लाग्दा भने रेष्टुरेन्टका संचालक समेत रहेका महेश प्रसाईले बोतल खोस्नुभएको थियो ।घम्साघम्सीका क्रममा रेष्टुरेन्टको सटर, टेबलकुर्सी, प्लेट र सिसाको बोतल फुटेको प्रसाईले बताउनुभयो । घटनापछि डराएर आफ्ना कर्मचारीले कामै छाडेको तथा समुदायमा नेपालीकै बेइज्जत भएको प्रसाइले बताउनुभयो ।

कुटाकुटको घटनाको सबै दृश्य रेष्टुरेन्टमा राखिएको सिसिटिभीमा कैद भएको छ । सिसिटिभीको भिडियोमा कुटपिटका क्रममा छुट्याउने भन्दा रमिता हेर्ने र लुसुक्क भाग्नेहरुको लर्को देखिन्छ । घटनाभएको समयमा रेष्टुरेन्टमा एनआरएनए अष्ट्रेलियाका पदाधिकारी, सल्लाहकार, अभियन्ता, पत्रकार लगायत विशिष्ट व्यक्तिहरु पनि त्यहि थिए । स्रोतका अनुसार रेष्टुरेन्टमा रात्रीभोजका लागि नेपाली कांग्रेससंग निकट दाबी गर्ने समुहका व्यक्तिहरु जम्मा भएका थिए । भोजमा कांग्रेसकै दुइ खेमाबिचका व्यक्तिहरुबिच विवाद हुदा घटना भएको स्रोतको दाबी छ । यसअघिको एनआरएनए चुनावमा सरोज पाण्डेले एउटा खेमाबाट चुनाव लडेर हार्नुभएको थियो ।

कुटपिट लगत्तै स्थानिय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सिसिटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनास्थलबाट एक जना युवक समेत समातिएका छन् । आफुमाथी आक्रमण गर्ने मुख्य व्यक्तिहरु भने पक्राउ पर्न बाकी रहेको सरोजले बताउनुभयो । घटनाको प्रकृति हेर्दा कुटपिटमा संलग्नमाथी कडा कारवाही हुने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ