Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमणसँगै नेपालमा निषेधाज्ञाको सन्त्रास, नियम उल्लंघन गर्ने तीन जना हिरासतमा

कोरोना संक्रमणसँगै नेपालमा निषेधाज्ञाको सन्त्रास, नियम उल्लंघन गर्ने तीन जना हिरासतमा


काठमाडौं । उपत्यकासहितका पूर्ण निषेधाज्ञा जारी गरिएका १६ जिल्लामा शुक्रबारबाट थप कडाई गरिएको छ । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्नेगरी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरिएपनि पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएपछि कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्न लागिएको हो । सरकारको निर्देशन कडाइका साथ पालना गरेर उल्लंघन गर्नेहरुमाथी कानुनअनुसार कारबाही गरिने जनाइएको छ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने बताइएको छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक पर्नेछैन ।

अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएपछि जिप्रका काठमाडौँबाट मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकसवारी पास जारी गर्नमा समेत रोक लगाइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरसँगै कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, पाल्पा र चितवनमा पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयनमा जाँदैछ । कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी गरिएसँगै निषेधाज्ञा जारी गरिएका जिल्ला र स्थानको जनजीवन प्रभावित बनेको छ ।

निषेधाज्ञा उल्लंघन गर्दा हिरासतमा
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको हो । निषेधाज्ञा उल्लंघन गरेकोमा सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अवरोध पुर्याएको भन्दै संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जनाइएको छ । पक्राउ परेका अन्य जरिवाना तिरेर छुटेका थिए ।

मानव अधिकार तथा शान्ति समाजले जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको भन्दै आलोचना गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ