Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवैज्ञानिकको चेतावनीलाई बेवास्ता, भारतमा कोरोनाको भयावह रुप

वैज्ञानिकको चेतावनीलाई बेवास्ता, भारतमा कोरोनाको भयावह रुप


काठमाडौं, एजेन्सी । भारतमा शनिबार मात्रै पनि ४ लाख १ हजार ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । सरकारले कोरोना भाइरसको दोस्रो लहरको जोखिमलाई लिएर वैज्ञानिकहरुले दिएको चेतावनीलाई बेवास्ता गरेको खुलाशा भएको छ ।

सरकारकै तर्फबाट गठित वैज्ञानिक सल्लाहकारहरुको एक फोरमले गएको मार्चको सुरुवातमा देशमा नयाँ तथा बढि संक्रामक कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिने चेतावनी दिएको पाइएको हो । भारतीय अधिकारीहरुलाई नयाँ भेरियन्टको प्रकोप बारे पूर्व आँकलनसहितको जानकारी गराएपनि चेतावनीका बाबजुद केन्द्र सरकारले भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि विस्तारित स्तरमा कडा प्रतिबन्ध नलगाएको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिक सल्लाहकार फोरममा रहेका पाँच वैज्ञानिकले समाचार संस्था रोयटर्सलाई केन्द्र सरकारले सचेतनालाई बेवास्ता गर्दा जोखिम बढेको जानकारी दिएका हुन् ।

मार्चको सुरुवातमा कोरोना भाइरसको नयाँ भेरियन्टलाई लिएर इन्डियन सार्स–कोभ–२ जेनेटिक्स कन्सोर्टियम (आइएनएसएसिओजी) ले सरकारलाई चेतावनी दिएको थियो । भारतको उत्तरी भेगस्थित एक रिसर्च सेन्टरका निर्देशकसमेत रहेका एक वैज्ञानिकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीधै रिपोर्ट गर्ने उच्च अधिकारीसम्म नयाँ भेरियन्टको जोखिमबारेको जानकारी गराएको बताउनुभएको छ । आइएनएसएसिओजीको निष्कर्ष प्रधानमन्त्री मोदीसम्म पुगे–नपुगेको पुष्टि गर्न भने सकिएको छैन । वैज्ञानिकसहितको सो फोरम सरकारले गएको डिसेम्बरको अन्तिममा गठन गरेको थियो । सार्वजनिक स्वास्थ्यका लागि खतरा हुन सक्ने कोरोना भाइरसका जिनोमिक भेरियन्ट पत्ता लगाउने जिम्मेवारी फोरममाथि थियो ।

भाइरसको भेरियन्टमाथि अध्ययन गरिरहेका राष्ट्रिय स्तरका १० प्रयोगशालाहरुलाई एक ठाउँमा ल्याएर अध्ययन गर्दा फेब्रुअरीमै बी१६१७ (भारतीय भेरियन्ट) पत्ता लागेको फोरमका सदस्य तथा सरकारबाट सञ्चालित जीव विज्ञान संस्थानका निर्देशक अजय परिदाले बताउनुभयो । अध्ययनको निष्कर्ष मार्च १० पहिले नै स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसिडिसी) लाई बुझाएर यो भेरियन्टको संक्रमण देशका विभिन्न क्षेत्रमा तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएको वैज्ञानिकहरुको दाबी छ ।

 वैज्ञानिकहरुको अध्ययन प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरेन । बरु मास्क नलगाई लाखौँ मानिसहरु धार्मिक कार्यक्रम तथा राजनीतिक ¥यालीहरुमा सहभागी भए । प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी तथा अरु विपक्षी दलका नेताहरुले चेतावनीका बाबजुद राजनीतिक तथा धार्मीक भेला गरेका थिए । यस्तै दिल्लीमा मोदी सरकारले ल्याएका कृषि सम्बन्धी तीन कानूनको विरोधमा किसानहरु भीडभाडयुक्त प्रदर्शन भयो । विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक भारतमा अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहरले भयावह अवस्था सिर्जना गरेको छ । यो पटकको संक्रमण पहिलो लहर भन्दा निकै बिस्तारित र भयावह देखिनुमा नयाँ भेरियन्ट कारक रहेको वैज्ञानिकहरुले बताउने गरेका छन् ।

कोरोना भाइरसको संक्रमण सन् २०१४ यता सत्तामा आएका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सबैभन्दा ठूलो संकटका रुपमा हेरिएको छ । संक्रमण नियन्त्रणको प्रयासमा खरो उत्रिन नसकेको र विफल भएको भन्दै आलोचना बढ्दैगर्दा यसको प्रभाव राजनीतिक रुपमा कत्तिको पर्ने छ भन्ने हेर्न भने बाँकी नै रहेको छ । स्थानीय चुनाव हालको बढ्दो संक्रमण पहिले भएको थियो भने अर्को चुनाव २०२४ मा हुनेछ ।

तत्काल लकडाउन गर्न प्रख्यात महामारी विशेषज्ञ डा.एन्थोनी फाउचीको सुझाब
अमेरिका राष्ट्रपति जो बाइडन प्रशासनका चिकित्सा सल्लाहकार तथा प्रख्यात महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भारतमा कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल केही हप्ताको लकडाउन गर्न सुझाब दिनुभएको छ । केही देशहरुले लकडाउन नचाहेका भए पनि भारतमा तुरुन्तै गरिने केही हप्ताको लकडाउनले संक्रमणको चक्र तोड्न सक्ने उहाँको दाबी छ ।

तत्काल लकडाउन गरेर संक्रमणको चक्र तोड्न सके कठिन र निराशाजनक स्थितिबाट बाहिर निस्कनका लागि तात्कालीक, मध्यवर्ती र दीर्घकालीन महत्वपूर्ण कदम उठाउन समय मिल्ने डा. फउचीको जिकिर थियो । महामारीको सुरुवाती समयमा भारतले अरु राष्ट्रलाई सहयोग गरेर उदारता देखाएको भन्दै डा. फउचीले सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । भारतमा चीनले जस्तै तुरुन्तै अस्पताल निर्माण र स्वास्थ्यकर्मीको परिचालन गरिनुपर्नेमा समेत उहाँको जोड थियो । डाक्टर फाउची अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सान्त्वना सन्देश र सहयोगको आश्वासन
कोरोना महामारीका कारण थलिँदै भएको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सान्त्वना सन्देशसहित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा सन्देश पठाएर कोरोना महामारीको अवस्थाबारे आफ्नो ऐक्यबद्धता सन्देश पठाउँदै सबै मुलुकहरू मिलेर महामारीलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति सीले भारतसँग मिलेर महामारी रोकथाममा सहकार्य गर्ने इच्छा देखाउँदै भारतलाई आवश्यक समर्थन र सहायता गर्न इच्छुक रहेको भनिएपनि सहयोगको रुपरेखाबारे केही उल्लेख गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ