Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपत्रकार महासंघ अष्ट्रेलियाको अध्यक्षको जिम्मेवारी आचार्यलाई

पत्रकार महासंघ अष्ट्रेलियाको अध्यक्षको जिम्मेवारी आचार्यलाई


सिड्नी
अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाको अध्यक्षको बाँकी १ वर्षे कार्यकालको जिम्मेवारी ऋषी आचार्यलाई दिइएको छ ।
सिड्नीमा शनिवार बसेको एन्जा कार्यसमितिको साधारण सभामा निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले बाँकी कार्यकालको अध्यक्षको जिम्मेवारी आचार्यलाई दिनुभएको हो । औपचारिक रुपमा पद हस्तान्तरण गर्नका लागि भने साधारण सभापछि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको रोहवरमा निवर्तमान अध्यक्ष काफ्लेले नवनियुक्त अध्यक्ष आचार्यलाई कार्यभार सुम्पिनु भएको थियो । कार्यक्रममा राजदूत दाहालले हाँसिहाँसी नेतृत्व हस्तान्तण गरेर एन्जाले उदाहरणीय कार्य गरेको बताउनुभयो । यहाँको नेपाली पत्रकारहरुको वृत्तिविकासमा दुतावास सहयोग गर्न तयार रहेको समेत राजदूतले बताउनुभएको छ ।
पद हस्तान्तरण गरेपछि नेपालट्युबसंग कुरा गर्दै एन्जाका निवर्तमान अध्यक्ष काफ्लेले कोरोनाका कारण सोचे जति काम गर्न नसकेपनि जति गरिएको छ ती काम महत्वपुर्ण रहेको बताउनुभयो । कोरोना लक डाउका कारण अष्ट्रेलियामा अड्किएका नेपालीलाई स्वदेश फर्काउने कार्यमा एन्जाले दूतावास र एनआरएनएसंग मिलेर महत्वपुर्ण भूमिका खेलेको काफ्लेको भनाई छ । पत्रकारहरुको वृत्तिविकासका कार्यक्रमहरु लकडाउनका लागि कारण गर्न नसकिएको भन्दै नयाँ अध्यक्षको टिमले त्यसलाई अघि बढाउनेमा आफु ढुक्क रहेको बताउनुभयो । हालै निधन भएका पत्रकार टिका कार्कीको परिवारलाई सहयोग पुर्याउने देखि  पत्रकारहरुको व्यवसायिकता वृद्धी गर्न एन्जाले महत्वपूर्ण भूमिका खेलेको काफ्लेको भनाई छ । त्यस्तै नवनियुक्त अध्यक्ष आचार्यले पत्रकारको व्यवसायिक वृत्तिविकास र अन्य संस्थासंग सहकार्य गरि सामाजिक सद्भाव बढाउन समेत आफु सक्रिय रहने नेपालट्युबलाइ बताउनुभयो ।
कार्यक्रममा न्युसाउथ वेल्स राज्यका महावाणिज्यदूत दिपक खड्का, एनआरएनएका उपाध्यक्ष मन केसी, सामाजिक अगुवा नारायण प्रधान र इन्द्रा वनले अष्ट्रेलियामा नेपाली पत्रकारहरुको भूमिकाका बारेमा विचार राख्नु भएको थियो । त्यस्तै एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, महासचिव ज्ञानेन्द्र रेग्मी लगायतले पनि शुभकामना दिनुभएको थियो ।
संस्था गठनकै बेला भएको समझदारी अनुसार काफ्ले र आचार्यले एकएक वर्ष अध्यक्षको पद सम्हाल्ने तय भएको थियो । पहिलो एक वर्ष काफ्ले अध्यक्ष हुदा आचार्य सहअध्यक्षको भूमिकामा रहनुभएको थियो । साउथ अष्ट्रेलियाको एडिलेडमा गत वर्ष एन्जा गठन हुने बेला अध्यक्ष पदका लागि दुइ जनाको उमेद्वारी परेपछि भेलाले दुबै जनालाई पालैपालो अध्यक्ष बनाउने निर्णय गरेको थियो । अध्यक्ष पदमा व्यक्ति परिवर्तन भएपनि बाँकी कार्यसमितिका सदस्यहरु भने उहि रहने एन्जाले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ