Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना उपचार : उपत्यकामा एक हजारसहित देशभर ७ हजार शैया थपिदै

नेपालमा कोरोना उपचार : उपत्यकामा एक हजारसहित देशभर ७ हजार शैया थपिदै


काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि देशभर करिब सात हजार शैया थप गर्ने निर्णय लिएर पूर्वाधार विकासको काम नै अघि बढाएको छ । यी मध्ये काठमाडौँ उपत्यकाका ६ वटा अस्पतालमा आजैदेखि एक हजार शैया थप गरी सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शैया थप्ने काम अघि बढेको जानकारी दिनुभयो । उपत्यकामा थप गरिएका एक हजार सैयामार्फत सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने आँकलन गरिएको छ । केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शैया पाउन नै समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शैया भरिएका छन् । आइतबार मात्रै सात हजार २११ सङ्क्रमित थप भएको र २७ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय÷सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०÷१५० शैया थप गर्ने प्रक्रिया अघि बढेको छ । सहप्रवक्ता डा अधिकारीले काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००÷४०० दरका एक हजार २०० शैय्या चाँडै तयार गर्ने सम्झौता अनुसार काम अघि बढेको जानकारी दिनुभयो । मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शैय्या थपिनेछन् । सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैया बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शैयाको पूर्वाधार रहेको छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीको पूर्वाधार विकासको त्यो प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उनै मन्त्रीले नेतृत्व गरेको मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने वक्तव्य निकालेको थियो । यो वक्तव्यसँगै सरकारले हात उठाएको भन्दै तिब्र आलोचना भएपछि शनिबार सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै मन्त्री त्रिपाठीले आतंकीत हुन जरुरी नभएको, सरकारले नागरिकको स्वास्थ्यको जिम्मा लिने भन्दै आइतबारदेखि नै उपत्यकामा एक हजार वेड थप हुने जानकारी गराउनुभएको हो । मन्त्री त्रिपाठीले अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न कोसिस भइरहेको भएपनि एक दुई दिनमै सबै समस्या समाभान हुने दाबी गरिरहँदा हामीले सरकारी अस्पतालको अवस्था के छ भन्ने बारे जानकारी लिएका छौँ ।

उपत्यकाका अधिकांश सरकारी अस्पतालमा अझ पनि बेड अभाव
कोभिड–१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालका बेड भरिएका छन् । बेड नभएको भन्दै धेरै अस्पतालले भर्ना लिन नमान्दा अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् । अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेपनि अगाडि नै फोन गरेर बेड बुक गर्ने अवस्था नरहेको चिकित्सकहरुले बताउनेगरेका छन् ।

त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा
त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा संक्रमितको उपचार गर्न ११३ बेड छुट्याइएकोमा अहिले १०९ जना संक्रमित उपचाररत रहेको कोभिड सम्पर्क व्यक्ति डा. सन्तकुमार दासले जानकारी दिनुभयो । संक्रमितमध्ये त्रि.वि शिक्षण अस्पताल २१ जना आईसीयूमा, ५ जना भेन्टिलेटरमा उपचाररत र बाँकी सामान्य वार्डमा उपचार गराइरहेका छन् । यहाँ भेन्टिलेटर बेडको क्षमता ११ वटा मात्र छ । अस्पताल आएका बिरामीलाई सम्भव भएसम्म नफर्काउने फर्काउनै परेमा अन्य कोभिड अस्पतालमा पठाइने गरेको दासको दाबी छ । डा. दासले भन्नुहुन्छ ‘हामीले हाम्रो क्षमताले भ्याएसम्म बिरामीको भर्ना लिने, उपचार गर्ने कोसिस गर्छौं । तर क्षमताले नै नधानेपछि फर्काउनुको विकल्प छैन ।’

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा संक्रमितको उपचारका लागि १४० बेड छुट्याइएका छन् । जटिल खालका संक्रमित आएपछि क्षमता भन्दा १८ जना बढी भर्ना लिने गरिएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. प्रवीण नेपालले जानकारी दिनुभयो । बिरामीको अवस्थाका कारण फर्काउन नसकेकाले संख्या बढाएर भर्ना लिइएको उनको दाबी छ । अहिले २० वटा आईसीयू रहेको बलम्बुमा १९ जना र ८ भेन्टिलेटरमा सबैमा संक्रमितको उपचार भैरहेको छ । अरु सामान्य बेडमा रहेका मध्ये पनि ७५ प्रतिशत बिरामी अक्सिजन दिनुपर्ने अवस्थामा रहेका र अस्पतालले जटिल अवस्थाका बिरामीलाई मात्र भर्ना लिने गरेको डा. नेपालले जानकारी दिनुभयो ।

वीर अस्पताल
वीर अस्पतालमा संक्रमितको उपचारका लागि ९६ वटा बेड रहेकोमा ५७ जना उपचाररत छन् । यी मध्ये आईसीयूमा ८ जना र भेन्टिलेटरमा दुई जना रहेका छन् । वीर अस्पतालले पनि अक्सिजनको सहायता लिनु नपर्नेलाई भर्ना लिएको छैन । अस्पतालले सर्जिकल बिल्डिङलाई कोभिड अस्पताल बनाउनेगरी काम अघि बढेको यहाँका कोभिड सम्पर्क व्यक्ति डा. अच्युत कार्कीले जानकारी दिनुभयो । आगामी हप्ताभित्र दुई सय बेड क्षमताको कोभिड अस्पताल तयार हुने तर जनशक्ति र उपकरण जुटाउनमा सरकारले सहयोग गर्नुपर्ने डा. कार्कीले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का संक्रमितको उपचारमा ६० बेड सञ्चालनमा ल्याएको सम्पर्क व्यक्ति डा. अनुप बास्तोलाले जानकारी दिनुभयो । यो अस्पतालमा उपचाररत ५४ जनामध्ये १२ जना भेन्टिलेटरमा, २२ आईसीयूमा, ४ जना स्पेसल आईसीयूमा, ७ जना नर्मल बेडमा र ९ जना आकस्मिक कक्षमा छन् । अस्पतालले अत्यावश्यक उपचारको आवश्यकता परेकालाई मात्र भर्ना गरिरहेको डा. बास्तोलाले जानकारी दिनुभयो । यो अस्पतालले बिरामीको अवस्था सुधार हुँदै सामान्य अक्सिजनले काम गर्ने भएपछि होम आइसोलेसनमा पठाउने गरेको छ । अस्पतालले भर्ना लिन नसक्ने बिरामीको उपचारका लागि अन्य सरकारी अस्पतालसँग समन्वय गरी सिफारिस गर्नेगरिएको डा. बास्तोलाले बताउनुभयो । अहिले तँ म नभनी सरकारी, निजी सबै पक्ष मिलेर काम गरेमात्रैसंकट टार्न सहज हुने डा. बास्तोला बताउनुहुन्छ ।

पाटन अस्पताल
पाटन अस्पतालमा संक्रमितको उपचारका लागि १९० वेड क्षमतामध्ये १४२ जना उपचाररत छन् । यीमध्ये आईसीयूमा १९ जना, भेन्टिलेटमा ११ जना, एचडी मनिटरसहितको बेडमा १० जना र एचडीयूमा २५ र वार्डमा ७७ जना उपचाररत रहेको कोभिड फोकल पर्सन डा. विनोद पाण्डेले जानकारी दिनुभयो । अस्पतालले आफूले भर्ना लिएर उपचार गर्न नसकेको अवस्थामा समन्वय गरी अन्य सरकारी अस्पतालमा सिफारिस गरिरहेको छ ।

निजामती कर्मचारी अस्पताल
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा ५० वटा बेडमध्ये अहिले २८ जना संक्रमितको उपचार भइरहेको छ । १४ बेड क्षमताको आईसीयू भरिएको छ भने ६ वटा वेड क्षमताको भेन्टिलेटर खाली छ । आईसीयूको बिरामी जटिल अवस्थामा भएकाले जुनसुकै बेला भेन्टिलेटर चाहिने इन्फेक्सन कन्ट्रोल नर्स ज्वाला ढकालले बताइन् । यहाँ १४ जना अक्सिजनको सहायतामा उपचाररत संक्रमित रहेका छन् ।

भक्तपुर अस्पताल भक्तपुर
भक्तपुर अस्पताल भक्तपुरमा ६८ बेडमध्ये ३० जना कोरोना संक्रमित उपचारत छन् । तीमध्ये ६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा छन् । नर्मल बेडमा भएका १८ जनामध्ये केहीबाहेक सबै अक्सिजनको सपोर्टमा रहेको सम्पर्क व्यक्ति डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । यहाँका आईसीयू र भेन्टिलेटर बेड सबै भरिएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा अहिले १२० जना उपचाररत रहेका छन् । १२५ वेड क्षमता भएको केन्द्रमा १० जना अक्सिजनको सहायता लिनुपर्ने र अरु सामान्य लक्षणसहितका र लक्षण नदेखिएका संक्रमित रहेको डा. जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सामान्य बेडमा भर्ना भएकाहरुलाई समेत अक्सिजन सपोर्ट चाहिने अवस्थाले देखाउँछ कोरोनाको दोश्रो लहरको जोखिम तिब्र छ । काठमाडौं उपत्यकाका अधिकांश सरकारी अस्पताल मात्रै होइन, कोरोना संक्रमितको उपचार गरिरहेका अधिकांश अस्पतालका आईसीयू र भेन्टिलेटर भरिएका छन् । सरकारले नै काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो रुपमा फैलिएकाले अस्पताल शैया उपलब्ध गराउन नसकिने र यी जिल्लामा भ्रमण नगर्न अपिल गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ