Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News४२ जिल्लामा निषेधाज्ञा, भएन नेपालमा कोरोना संक्रमणको ‘चेन ब्रेक’

४२ जिल्लामा निषेधाज्ञा, भएन नेपालमा कोरोना संक्रमणको ‘चेन ब्रेक’


काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दैपूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा संक्रमण बढी देखिएका निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिको बर्दियामा सोमबार बिहान ६ बजेदेखि आउँदो ३१ गते बिहान ६ बजेसम्मका लागि पूर्णरुपमा निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ । यस्तै बझाङमा आज बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म र बैतडीमा आज बिहान ८ बजेदेखि जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । अर्घाखाँचीमा सोमबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । कपिलवस्तुमा वैशाख २१ गते बिहान ४ बजेदेखि ३१ गते राति १२ बजेसम्म, धादिङमा वैशाख २१ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म, नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने सूचना जिल्ला प्रशासन कार्यालयमार्फत जारी गरिएको छ ।

यस्तै, दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुँदैछ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएकोमा मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका क्षेत्रभर निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या दिनहु बढिरहेको छ । देशका शहरी क्षेत्रमा ग्रामिण भेगको तुलनामा संक्रमण र मृत्युदर तिब्र बन्दा उपचार प्रणाली समेत प्रभावित भैरहेको छ । अस्पतालमा शैय्या अभावदेखी अक्सिजन अभावका कारण संक्रमितहरुले ज्यान गुमाउनुपर्ने अवस्था देखिदा समेत सरकार कोरोना रोकथाम र नागरिकको उपचारमा बेमतलबी देखिएको भन्दै आलोचना भैरहेको छ । पछिल्ला दिनहरुमा त दैनिक संक्रमितको संख्या नै ७ हजारबाट उकालो लाग्न थालेको छ । सक्रिय संक्रमित मध्ये करिब ४, ५ हजार मात्रै अस्पतालमा छन् । बाँकी होम आइसोलेसनमै उपचाररत रहँदा नै सरकारले उपचार दिन नसक्ने भन्दै हात झिक्नुले भने नागरिक प्रतिको जिम्मेवारी बोधमा सरकार लाचार छ भन्ने आफै उदांगो भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ