Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपछिल्लो एक सातामा भारतमा २० सहित विदेशमा २३ नेपालीको निधन

पछिल्लो एक सातामा भारतमा २० सहित विदेशमा २३ नेपालीको निधन


काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा पछिल्लो एक सातमा २३ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो एक सातामा भारतमा २० सहित विदेशमा २३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको हो ।

समितिका संयोजक डा. सन्जिव सापकोटाले भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको छ । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीले ज्यान गुमाएका छन् । मृतकमध्ये दुई सय पैतालिस जना मध्यपूर्वका रहेका छन् । अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जनाले कोरोना जितेका छन् ।

यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रील महिनामा २३ जना नेपालीको निधन भएको छ । गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह
एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जानकारी गराएको छ । इमेल पठाएर परामर्श लिन समेत सकिने एनआरएनएको स्वास्थ्य समितिले जानकारी गराएको छ । डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य समस्यामा वृद्धि
कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकहरुले बताएका छन् । विभिन्न देशबाट भर्चुएल माध्यमबाट सहभागी चिकित्सकहरुले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखापरेको जानकारी गराएको एनआरएनले जानकारी दिएको छ । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको भएपनि मानसिक समस्या समाधानका लागि एनआरएनएले तालिम मार्फत समेत आयोजना गर्दै आएको छ । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली चिकित्सकहरु सहभागी छन् ।

विदेशमा रहेका नेपालीहरुको अवस्थाको तथ्यांक संकलनमा यूरोप संयोजक डा.बोधराज सुवेदी, यूकेबाट डा.दिलिप यादव, कतारबाट डा.नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा.सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामा, लगायतको टोलीले सक्रिय भएर काम गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ