Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट राजदूत दाहाल फिर्ता बोलाइए, को बन्लान अब राजदूत ?

अष्ट्रेलियाबाट राजदूत दाहाल फिर्ता बोलाइए, को बन्लान अब राजदूत ?


काठमाडौं । सरकारले दुईवर्षे कार्यकाल बाँकी रहेका अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट राजदूत नियुक्त हुनुभएका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि राजदूत बन्नुभएकी लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले मुख्य सचिव शंकरदास बैरागीमार्फत फिर्ता बोलाउने सरकारको निर्णय जानकारी पाएको बताउनुभयो । अब पठाइने राजदूत बारे पार्टी र मन्त्रिपरिषदमा कुनै छलफल भएको छैन । कोरोना महामारिले तिब्रता पाएका कारण नियुक्तिका लागि इच्छा प्रकट गर्नेहरु समेत नदेखिदा प्रधानमन्त्री ओलीले आफ्नो कोही विश्वास पात्रलाई राजदूतको जिम्मेवारी दिएर पठाउने आँकलन गर्न थालिएको छ ।

को हुन फिर्ता बोलाइएको दाहाल ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक नातेदार पर्ने दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध हुनुहुन्थ्यो । २०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि दाहाल कांग्रेस छाडेर माओवादी प्रवेश गर्नुभएको थियो । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत पाउने सेवा सुविधा समेत रोकिएको छ । यस्तै, सरकारले यसअघि नै प्रचण्ड निकट मानिने लीलामणी पोखरेललाई चीनको राजदूतबाट फिर्ता बोलाएको थियो ।

प्रधानमन्त्री ओली ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई भने अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने पक्षमा देखिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ