Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्यमन्त्री गुरुङले दिए राजीनामा, को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

मुख्यमन्त्री गुरुङले दिए राजीनामा, को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?


काठमाडौं । विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखेपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङको राजीनामा स्वीकृत भएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने बाटो खुलेको छ । एकल बहुमतका आधारमा सरकार नबन्ने भएपछि प्रदेश प्रमुख सिता पौडेलले दुई वा दुई भन्दा बढी दलको सहभागितामा तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान समेत गरेकी छन् ।

बैशाख २७ गते विश्वासको मत लिने बताएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तत राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन विश्वासको मत पाउने कुनै आधार नदेखेपछि मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएको बताइएको छ । कोरोना भाइरसबाट संक्रमित गुरुङ उनी विरुद्धको अविश्वासको प्रस्तावमाथि हुने छलफलमा समेत सहभागी हुन पाउने थिएनन् । आफु विरुद्ध लगाइएका अभियोगमा आफैले जवाफ दिन नपाउने भएपछि गुरुङले त्यसअघि नै राजीनामा दिने निधो गरेको बताइएको छ । माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा परेका थिए । यद्यपी उनी विरुद्धको अविश्वासको प्रस्तावमा जनमोर्चाले हस्ताक्षर नगरेपनि पाटीको केन्द्रले अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्न निर्देशन दिइसकेको थियो ।

मुख्यमन्त्री गुरुङ विरुद्ध बैशाख २ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गरेको अविश्वासको प्रस्तावमाथी वैशाख १५ मा मतदान हुने कार्यसूची रहेपनि संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । गुरुङ नेतृत्वको सरकार बिरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२ काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् ।

६० सदस्य रहेको प्रदेश सभामा नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन चाहिन्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् । गुरुङको पक्षमा भने २७ सांसद मात्रै देखिएका छन् । स्वतन्त्र सांसद दिपक मनाङेलाई गुरुङले मन्त्री बनाएपनि उनै मनाङ्गेले सरकार केही दिनमै ढल्ने बताएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ