Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा एक लाख बढी संक्रमित घरमै, ५५ जिल्ला ‘रेड जोन’ मा

नेपालमा एक लाख बढी संक्रमित घरमै, ५५ जिल्ला ‘रेड जोन’ मा


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्दैआएका सक्रिय संक्रमितको संख्या नै एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७ सय ७१ रहेको छ ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा आठ हजार ५७१, गण्डकीमा सात हजार ५४२, प्रदेश २ मा पाँच हजार ९१०, सुदूरपश्चिममा पाँच हजार ७४३ र कर्णाली प्रदेशमा तीन हजार ६८५ जना होम आइसोलेसनमा रहेको सरकारी तथ्यांक छ । आइतबार संस्थागत आइसोलेसन अर्थात देशका विभिन्न अस्पतलमा उपचाररत संक्रमितको संख्या सात हजार ९६९ रहेको छ । यी मध्येपनि एक हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६०९ संक्रमित
काठमाडौंमा २ हजार १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा गरी कुल २ हजार ६०९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, खोटाङमा ३, झापामा २००, ताप्लेजुङमा २६, तेह्रथुम २, धनकुटामा ७, पाँचथर १, भोजपुरमा २, मोरङमा ३५२, संखुवासभामा ३, सोलुखुम्बु २ र सुनसरी ९१ जना, प्रदेश २ को धनुषामा १४२, पर्सामा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जना, बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८८१ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २५५, चितवनमा २५१, दोलखामा ७, धादिङमा ५१, नुवाकोटमा ५५, भक्तपुरमा २९२, मकवानपुरमा १७, रसुवामा ५३, रामेछापमा ११, ललितपुरमा ४३६, सिन्धुपाल्चोकमा ८५ र सिन्धुली ६३ जना, गण्डकी प्रदेशको कास्कीमा १७०, गोरखामा २३, तनहुँमा २२, नवलपरासी पूर्वमा ५३, पर्वत ६, मुस्ताङ १, म्याग्दी २, लमजुङमा ५, बागलुङमा ३ र स्याङजामा ८ जना, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४०, कपिलवस्तुमा २१, गुल्मीमा ५४, दाङमा ३१९, नवलपरासीमा ५५, पाल्पामा ७७, प्यूठानमा १, बर्दियाका ४३, बाँकेमा १६०, रुकुम पूर्व २, रुपन्देहीमा ४०३ र रोल्पामा ७ जना, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा ३८, जुम्ला ६, डोल्पा ४, दैलेखमा २१, मुगु ३, रुकुम पश्चिममा २४, सल्यानमा १९, सुर्खेतमा २१५ र हुम्लामा २ जना, सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३३, कैलालीमा ५२७, डडेल्धुरामा १, डोटी २, दार्चुला १६, बाजुरामा ३ र बैतडीमा ५२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामै साँढे ६ हजार बढीले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना संक्रमितले कोरोना जितेका छन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

थप १४५ जना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

३६ जिल्लामा ५ सय बढी संक्रमित, ५५ जिल्लामा संक्रमणदर तिब्र
नेपालका ५५ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५५ जिल्ला अहिले ‘रेड जोन’मा रहेका छन् ।

यी हुन पाँच सयभन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरु
प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी र बारा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम र कपिलवस्तु, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी र अछाममा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

२ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरु
प्रदेश १ को ताप्लेजुङ र उदयपुर, गण्डकी प्रदेशको पर्वत, म्याग्दी, स्याङ्जा र लमजुङ, लुम्बिनी प्रदेशको गुल्मी र रोल्पा, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यान, सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ