Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपालीले अक्सिजन उत्पादन गर्ने १ सय थान उपकरण नेपाल पठाउदै

अष्ट्रेलियाका नेपालीले अक्सिजन उत्पादन गर्ने १ सय थान उपकरण नेपाल पठाउदै


ब्रिजबेन । नेपालमा अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु हुन थालेपछि अष्ट्रेलियाका नेपालीले १ सय थान अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ । बाहिरी हावा तानेर अक्सिजन छुट्याई सिलिण्डरमा भर्ने उपकरण नै कन्सन्ट्रेटर हो ।

यस्तो उपकरण किनेर नेपाल पठाउन एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा सहयोग संकलन भईरहेको छ । प्राप्त सहयोगबाट चीनको क्वाङचौ शहरबाट यस्तो उपकरण किन्ने प्रकृया सुरु भइसकेको छ । अबको सातदिन भित्रै अक्सिजन कन्सन्ट्रेटर नेपाल पुगिसक्ने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिनुभयो ।

१ सय थान कन्सन्ट्रेटरका लागि एक लाख २ हजार अमेरिकी डलर अर्थात १ करोड १९ लाख रुपैया खर्च हुने भएको छ । नेपाल सरकारले जहाज पठाएर ती उपकरणहरु नेपाल लैजाने तयारी भईरहेको कँडेलले जानकारी दिनुभयो ।

अक्सिजन कन्सन्ट्रेटरले काम गर्ने नमुना चित्र

अक्सिजन र मेडिकल सामाग्रीको आपुर्तिमा सहयोग जुटाउन नेपाली दुतावासको पहलमा अष्ट्रेलियाका एनआरएनए, नेपाली चिकित्सकहरुको छाता संगठन एम्डा, नेपाली संघसंस्थाहरुको छाता संगठन फेन्का, पत्रकारहरुको संस्था एन्जा तथा अन्य सामाजिक संघसंस्थाबिच सहकार्य भइरहेको छ । यहि सहकार्यले एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजनमा सहयोग संकलन समिति गठन भएको छ । समितिले अहिले ‘अष्ट्रेलिया स्ट्याण्डस् टुगेदर फर नेपाल’ भन्ने अभियान संचालन गरिरहेको छ ।

यहि अभियान अन्तगर्त विभिन्न सामाजिक, व्यवसायिक तथा व्यक्तिहरुले १ सय ३ वटा कन्सन्ट्रेटर दिने घोषणा गरेका हुन् । एउटा कन्सन्ट्रेटरको १२ सय डलर बराबरको आर्थिक सहयोग एनआरएनएको खातामा जम्मा गर्ने क्रम जारी छ । त्यस्तै अभियान अन्तगर्त एनआरएनए अष्ट्रेलियाले संचालन गरेको गो फन्ड मिमा यो समाचार सामाग्री तयार पार्दासम्म ३९ हजार डलर संकलन भएको छ ।

एनआरएनएको बैंक खातामा ५ हजार डलर पनि संकलन भएको छ । त्यस्तै एनआरएनए कुइन्सल्याण्डले छुट्टै संचालन गरेको गो फण्डमि र खातामा गरि ८ हजार डलरभन्दा बढी रकम संकलन भएको छ । कुइन्सल्याण्ड राज्य समितिले मात्रै २५ थान कन्सन्ट्रेटरका लागि सहयोग संकलन गरेको कोषाध्यक्ष शम्भु घैंसेले जानकारी दिनुभयो ।
अझै सहयोग आउने क्रम जारी छ । हालसम्म संकलन भएको रकम हेर्दा कन्सन्टेरेटर किनेपछि पनि झण्डै ५० हजार डलरजति पैसा बाँकी रहन्छ । सो रकम पनि नेपालको स्वास्थ्य क्षेत्रमै खर्च गरिने एनआरएनए अष्ट्रेलियाले जनाएको छ । संभवत छलफल अर्को बैठकबाट कहाँ सहयोग गर्ने भन्ने निधो गरिने अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

नेपालमा परेको दुखमा सहयोग गर्न अष्ट्रेलियाका नेपाली सधै अगाडी देखिने गरेको भन्दै यसपाली निकै उत्साहका साथ सहयोग रकम संकलन भएको कँडेलको भनाई छ । सहयोग गर्ने सबै संघसंस्था, व्यक्ति र व्यवसायलाई कँडेलले धन्यवाद समेत दिनुभएको छ ।

नोट: समाचारमा प्रयोग गरिएको कन्सन्ट्रेटरको तस्बिर नमुनाका लागि मात्र प्रयोग गरिएको हो । नेपाल पठाउने कन्सन्ट्रेटर फरक हुनसक्छ । 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ