Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाको मार, ४५ लाखले गुमाए रोजगारी

नेपालमा कोरोनाको मार, ४५ लाखले गुमाए रोजगारी


काठमाडौं । कोरोनाको दोस्रो लहरले देशलाई गाँजिरहँदा निजी क्षेत्रले ठूलो संकटको सामना गर्नुपरिरहेको छ । कोरोना रोकथामका लागि बिगतमा गरिएको महिनौँको लकडाउन र दोश्रो लहरसँगै देशका अधिकांश स्थानमा एक महिनादेखि जारी निषेधाज्ञाका कारण लाखौंले रोजगारी गुमाएका छन् ।

निषेधाज्ञा घोषणापछि काठमाडौंबाट लाखौँ नागरिक गाउँ फर्किएका छन् । गाउँ फर्किएका प्राय कामविहीन अवस्थामा छन् । उद्योग तथा कलकारखानाहरू ठप्प रहेको काठमाडौं उपत्यकामा बस्नेहरुपनि काममा जान पाएका छैनन । उद्योगीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न नपाउँदा कामदारलाई तलव खुवाउन धौधौ पर्ने अवस्था छ । खासगरी, पर्यटन, यातायात, निर्माण लगायत धेरै क्षेत्रका उद्योगी व्यवसायीसँगै कामदार मारमा छन् ।

कतिले गुमाए रोजगारी ?
कोरोना भाइरसले नेपालमा कतिको रोजगारी गुम्यो, के कति उद्योग कलकारखाना बन्द भए भन्ने विश्वसनीय र आधिकारिक तथ्यांक छैन । श्रमिकहरूको प्रतिनिधिमूलक संस्था नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाले मात्रै ३० लाखको रोजगारी गुमेको जानकारी दिएको छ । महासंघका अध्यक्ष विनोद श्रेष्ठ पहिलोभन्दा दोस्रो लहरले रोजगारीमा ठूलो संकट पैदा गरेको दाबी गर्नुहुन्छ । नेपालमा कोरोना आउनुभन्दा पहिले देशभर औपचारिक र अनौपचारिक क्षेत्रमा १ करोड ३५ लाखले रोजगारी पाएका थिए । यीमध्ये ८० प्रतिशत अनौपचारीक क्षेत्रमा थिए । पहिलेको लकडाउनमा दुवै क्षेत्र गरी करिब १५ लाखले रोजगारी गुमाएकोमा दोस्रो लहरको कोरोनाले मात्रै ३० लाखको रोजगारी गुमेको आँकलन छ ।

सरकारले आर्थिक वर्ष २०७८\७९ का लागि ल्याएको वार्षिक बजेटले सामान्य राहत कार्यक्रम ल्याएपनि पूर्ण नभएको व्यवसायीहरूले बताउने गरेका छन् । यद्यपी सरकारले नयाँ बजेटमार्फत् विदेशबाट नेपाल आएका नेपालीहरूसँगै युवाहरुलाई स्वरोजगारी सिर्जना गर्न सहुलियत ऋण लगायतका कार्यक्रम ल्याएको छ ।

स्वास्थ्य क्षेत्रभन्दा पछाडि पहिलेको रोजगारीलाई पुनः स्थापित गराउने र नयाँ रोजगारी सिर्जना गराउनेमा नै बजेट केन्द्रित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले समेत बजेट सकारात्मक रहेको बताउनुभयो । निजी क्षेत्रमैत्री बजेट मार्फत देशको अर्थतन्त्र चलायमान गराउने र रोजगार वृद्धि गर्नेमा सरकार केन्द्रित भएको देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ