Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपालीले पठाएको अक्सिजन कन्सन्ट्रेटर जुन ५ मा नेपाल पुग्दै

अष्ट्रेलियाका नेपालीले पठाएको अक्सिजन कन्सन्ट्रेटर जुन ५ मा नेपाल पुग्दै


क्वाङचौ/चीन
अष्ट्रेलियाको गैर आवासिय नेपाली संघले पठाएको अक्सिजन कन्सन्ट्रेटर जुन ५ तारिखमा नेपाल पुग्ने  तय भएको छ । एनआरएनए अष्ट्रेलियाले नेपाल पठाउनका लागि चीनको बेइजिङमा १ सय ६ थान अक्सिजन कन्सन्ट्रेटर किनेको हो । उक्त कन्सन्ट्रेटर बेइजिङबाट क्वाङचौ शहरको विमानस्थलको भन्सारमा पुगिसकेको छ ।
नेपाल सरकारले उक्त सामान लिन जुन ४ तारिख शुक्रबार राति चार्टर विमान क्वाङचौ पठाउने तय भएको त्यहास्थित नेपाली महावाणिज्यदूत हरिशरण पुडासैनीले जानकारी दिनुभयो । नेपालट्युबसंग कुरा गर्दै महावाणिज्यदूत पुडासैनीले नेपाल एयरलाइन्सको वाइडवडी ३३० जहाज ४ तारिख राति क्वाङचौस्थित पाइयुइन विमानस्थलमा अवतरण गर्ने पुष्टी गर्नुभएको हो ।
कन्सन्ट्रेटर, पिसिआर परिक्षण गर्ने किट र अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री बोकेर विमान जुन ५ तारिख बिहान नेपाल फर्कने तय भएको पुडासैनीको भनाई छ । नेपाल एयरको चार्टर विमानको फ्लाइट नम्बर प्राप्त भएसंगै नेपाली कुटनीतिक नियोगले चीन सरकारसंग उडानको अनुमति समेत लिइसकेको छ । जुन ५ तारिखमा एनआरएनए चीन तथा महावाणिज्यदूतावासका प्रतिनिधीहरु विमानस्थलमा पुगेर सहयोग सामाग्री विमानमा हाल्ने तयारी भएको छ ।

चीनको क्वाङतोङ प्रोभिन्सका नेपाली महावाणिज्यदूत हरिशरण पुडासैनी

एनआरएनए अष्ट्रेलियाले गत मे महिनाको अन्तिम हप्ता नै अक्सिजन कन्सन्ट्रेटर नेपाल पुर्याउने लक्ष्य लिएको थियो । तर समयमै नेपाल सरकारले विमान नपठाउदा ढिला भएको एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताउनुभयो ।

कन्सन्ट्रेटरका लागि एक लाख २ हजार भन्दा बढी अमेरिकी डलर खर्च भएको छ । अक्सिजन र मेडिकल सामाग्रीको आपुर्तिमा सहयोग जुटाउन नेपाली दुतावासको पहलमा अष्ट्रेलियाका एनआरएनए, नेपाली चिकित्सकहरुको छाता संगठन एम्डा, नेपाली संघसंस्थाहरुको छाता संगठन फेन्का, पत्रकारहरुको संस्था एन्जा तथा अन्य सामाजिक संघसंस्थाबिच सहकार्य भइरहेको छ । यहि सहकार्यले एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजनमा सहयोग संकलन समिति गठन भएको छ । समितिले अहिले ‘अष्ट्रेलिया स्ट्याण्डस् टुगेदर फर नेपाल’ भन्ने अभियान संचालन गरिरहेको छ । यहि अभियान अन्तगर्त विभिन्न सामाजिक, व्यवसायिक तथा व्यक्तिहरुले कन्सन्ट्रेटर दिने घोषणा गरेका हुन् । एउटा कन्सन्ट्रेटरको १२ सय डलर बराबरको आर्थिक सहयोग एनआरएनएको खातामा जम्मा गर्ने क्रम जारी छ । त्यस्तै अभियान अन्तगर्त एनआरएनए अष्ट्रेलियाले संचालन गरेको गो फन्ड मिमा सहयोग संकलन भएको छ ।

अक्सिजन कन्सन्ट्रेटरले काम गर्ने नमुना चित्र


ट्याग : #china, #Nepali in Australia, #oxygen
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ