Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१२ वर्षमा ढल्यो नेतान्याहूको सरकार, कहिलेसम्म टिक्ला इजरायलको विपक्षी गठबन्धन ?

१२ वर्षमा ढल्यो नेतान्याहूको सरकार, कहिलेसम्म टिक्ला इजरायलको विपक्षी गठबन्धन ?


काठमाडौं । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू पदमुक्त हुनुभएको छ । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहनुभएका नेतान्याहू संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनुपरेको हो ।

तीव्र प्रतिस्पर्धाका कारण अन्तिमसम्म पनि हार स्वीकार नगरेको संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । अब नेतान्याहु इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रुपमा क्रियाशिल हुनुहुनेछ । नेतान्याहूले सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने इतिहास रचेका छन् । पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका नेतान्याहु पहिलो पटक १९९६ सालदेखि १९९९ सम्म र २००९देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बन्नुभएको थियो ।

चुनौतीसहितको अवशरमा विपक्षी गठबन्धनको सरकार
६० प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । जम्मा सात सीट ल्याउने दलका तर्फबाट प्रधानमन्त्री बन्ने नेफ्टाली बेनेट इजरायलका पहिलो नेता हुन् । विपक्षी गठबन्धनमा १७ सिट रहेको गठबन्धनको ठूलो दल येश आतिद पार्टीका नेता याइर लापिद र बेनेटबीच सत्ता साझेदारीको सहमति जुटेको छ ।

इजरायलको संसद्लाई नेसेट भनिन्छ र त्यसमा कुल १२० सीट छन् । नेतान्याहुको लिकुड पार्टी ३० सीटका साथ सबभन्दा ठूलो दल हो । यो दल अब विपक्षमा रहनेछ । यसपछि येश आतिद पार्टीको १७ सीट छ । यामिनाको सात, मेरेत्जको ६ र राआमको चार सीट छ । यसबाहेक अन्य आठवटा दल संसदमा छन् । विगत दुई वर्षमा चारपटक आमनिर्वाचन भएर चरम अस्थिरतामा फसेको इजरायलमा जनताले नयाँ सरकार बनेको हेर्न चाहेपनि सरकार कति टिक्ला भन्ने अन्यौलत कायमैछ । किन कि नयाँ गठबन्धन सरकारमा बिल्कुलै फरक ध्रुवका नेताहरु छन् । बेनेट उग्रदक्षिणपन्थी हुन् भने लापिद मध्यमार्गी उदारवादी हुन् । गठबन्धनमा राआम अर्थात् युनाइटेड अरब लिस्ट नामक अरबीहरूको पार्टी र मेरेत्ज नामक अर्को सानो दल पनि छ । यस्तो फरक विचारधारा भएका दलहरू गठबन्धन सरकार बनाउन तयार हुनुमा एउटै तत्त्वले काम गरेको छ । त्यो हो, यी सबै नेतान्याहुलाई जसरी भए पनि सत्ताबाट हटाउन एकमत हुनु । यहि चाहानाले बनेको गठबन्धन लामो समय टिक्ने सम्भवना देखिन्छ ।

इटलीमा उग्रदक्षिणपन्थी दल लिगा र लोकरञ्जनवादी पार्टी फाइभ स्टार मुभमेन्टबीचको गठबन्धन लामो समय नटिके जस्तो इजरायलमा नयाँ गठबन्धन पनि लामो समय जाँदैन कि भन्ने आशंका पैदा भएको छ । त्यसमाथी पनि सत्ता बाहिर आइपुगेका नेतान्याहु सत्ताका चतुर खेलाडी भएकाले उनैले गठबन्धन फुटाएर लाभका लागि भुमिका खेल्ने आँकलन पनि हुन थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ