Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनको सैन्य गतिविधिलाई लिएर नेटो आवद्ध नेताहरुको चेतावनी

चीनको सैन्य गतिविधिलाई लिएर नेटो आवद्ध नेताहरुको चेतावनी


एजेन्सी । चीनले आफ्ना गतिविधिमार्फत गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भन्दै चेतावनी दिएका हुन ।

चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको नेटोका नेताहरुले बताएका छन् । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोमा आबद्ध नेताहरुले लगाएका छन् । नेटोका जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएका छन् । चेतावनी दिएपनि नेटोले चीनसँग नयाँ शित युद्धको पक्षमा भने नरहेको बताएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।

कम्युनिष्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको थियो । पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बिचमै संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएसँगै यसले गति लिन सकेको थिएन । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि आफ्नो देशले अरुको सुरक्षाका लागि ठूलो खर्च गरेको भन्दै सबैले समान हिस्सा बेहोर्नु पर्ने बताएपछि तनाब बढेको थियो । जो बाइडेन जनवरीमा सत्तामा आएयता पहिलो नेटो बैठक भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताएका छन् ।

अमेरिकी ‘स्वार्थ’ का लागि नेटो रणनीतिक रुपमा महत्वपूर्ण रहेको बताइएको छ । बुधबार जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बाइडेन भेटवार्ता गरेपछि थप रणनीति तय हुने बताइएको छ । यता, विश्वा औद्योगिक तथा शक्ति राष्ट्रहरुको समूह जी–७ ले समेत चीनका विकास रणनीतिमा चुनौती दिनेगरि आफ्ना गतिबिधि अघि बढाउने तयारीलाई तिब्रता दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ