Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsगणेश लामा के गर्दैछन् अष्ट्रेलियामा ? छवी सुधार्ने कसरत !

गणेश लामा के गर्दैछन् अष्ट्रेलियामा ? छवी सुधार्ने कसरत !


सरल गुरुङ/सिड्नी

पछिल्लो समय नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा होमिए पनि गणेश लामाको नाम अघि अझै पनि धेरैले गुण्डा नाइकेको विशेषण जोड्ने गरेका छन् । गुण्डाको पगरी हटाउन लामा व्यापारदेखि राजनीतिसम्मै कसरत गरिरहेका छन् । उनको छवी सुधार्ने यात्रा स्वदेशमा मात्रै नभई विदेशसम्मै पुगेको छ ।
दुइ पटक चुनाव हारेपछि आफ्नो योगदान अझै नपुगेको महसुस गरेको बताउने गणेश लामा अहिले अष्ट्रेलिया भ्रमणमा छन् । मेलवर्नमा बस्ने भाईकोे बच्चा जन्मिएपछि भेट्नका लागि उनी गत डिसेम्बर २७ तारिखमा अष्ट्रेलिया आएका हुन् । नितान्त पारिवारिक भ्रमण भएपनि लामाले यसलाई आफ्नो छवी सुधारेर राजनैतिक पकड बनाउने मेलोको रुपमा समेत प्रयोग गर्न भ्याएका छन् ।

अष्ट्रेलियाको विभिन्न राज्यका कांग्रेस जनसम्पर्क समिति, जातिय संघसंस्था र नेपालीको सार्वजनिक कार्यक्रमहरुमा लामाको सहभागिता र सम्मान बाक्लिएको छ ।
कार्यक्रममा लामाले देश निर्माण र युवा शक्तिबारे गहकिलो राजनैतिक भाषणसमेत गर्ने गरेका छन् । उनले भाषणमा विदेशमा सिकेको ज्ञान र सिपलाई स्वदेशमा फर्किएर लगानी गर्न युवालाई अनुरोध समेत गरेका छन् । “म सहभागी भएको कार्यक्रममा धेरै मानिसले देशमा स्थिरता र विकास होस् भन्ने चाहना राख्ने गरेका छन्” – सिड्नीमा भेटिएका लामाले भने ¬ “मैले पनि उहाँहरुलाई सम्झाउदै विदेशमा बसेर गुनासो मात्रै गर्ने होइन तपाइहरु पनि यहाँ सिकेको ज्ञान लिएर स्वदेश आउनुस् अनि संगै विकास गरौला भन्ने गरेको छु” ।

सिड्नीमा कांग्रेस जनसम्पर्क समितिको कार्यक्रममा सहभागी गणेश लामा

त्यसो त कार्यक्रममा सहभागीहरुले समेत लामालाई क्षमतावान् नेताका रुपमा प्रशंसा गर्ने गरेका छन् । सिड्नीमा कांग्रेस जनसम्पर्क समितिले गरेको कार्यक्रममा समितिका अध्यक्ष छिरिङ्ग शेर्पाले त लामा सिंगो तामाङ्ग समुदायकै तर्फबाट अब्बल नेता हुन सक्ने दावी गरे । “गणेश लामाजिले पहिले के गरे के गरेनन् हामी त्यहातिर जान हुन्न” – शेर्पाले भने- “सुध्रिएर केही गर्छु भनेर आएको युवालाई हामी सबैले साथ दिनुपर्छ” ।

अष्ट्रेलिया आएको पहिलो साता नै लामा मलेवर्न, सिड्नी र क्यानवेराको जनसम्पर्क समितिले गरेको कार्यक्रममा सहभागी भइसकेका छन् । त्यस्तै यहि अवधीमा उनले ग्रानभिल नेपाली समाजले गरेको नया“ वर्ष क्रुज पार्टी र तामाङ रिक्रियसनल क्लबले गरेको सम्मान कार्यक्रममा समेत सहभागिता जनाइसकेका छन् । जनवरी ९ मा फर्किने लामा अरु पनि कार्यक्रममा सहभागी हुने उनको तयारी छ ।
उनी सहभागी हुने कार्यक्रममा उनीसंग तस्बिर खिचाउनेहरुको समेत लर्को लाग्ने गरेको छ ।

तामाङ रिक्रियसनल क्लब सिड्नीको कार्यक्रममा सहभागी लामा

पैसा र पावरले साथ दिएपनि अभागी गणेश

गुण्डाको उपनाम हटाउन गणेश लामा कति आतुर छन् भन्ने कुरा उनीसंगको छोटो भलाकुसारीबाटै प्रष्ट हुन्छ । निमार्ण कम्पनी चलाएर होस् वा विजय गच्छदारको फोरम लोकतान्त्रिक हुदै नेपाली कांग्रेसको महासमिति सदस्य नै किन नहोस् ? लामा आफ्नो धमिलिएको छवी सुधार्न आतुर देखिन्छन् ।
तर, पैसा र नेताले साथ दिएपनि गणेश लामालाई भाग्यले भने ठगिरहेकै भान हुन्छ । फोरम लोकतान्त्रिकबाट दोस्रो संविधान सभा चुनावमा काभ्रे क्षेत्र नम्बर २ बाट उमेद्वार बनेका लामा झण्डै तीन हजार मतले हारे । सभासद् बनेर गुण्डाको पगरी हटाउने उनको सपना चकानाचुर भयो । फोरम नेपाली कांग्रेसमा विलय भएपछि लामाले फेरी अर्को मौका पाए । नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यको उमेद्वार बनेका लामा दास्रो पटक पनि हार्न पुगे । चुनाव हारेको हारै गरेपछि लामा अहिले भन्न थालेका छन्- “मैले योगदान गर्न अझै बाँकी नै रहेछ

गणेश लामा र अपराध

रक्तचन्दन तस्करी, हातहतियार, फिरौती, चन्दा असुली र ज्यानमार्ने उद्योग जस्ता थुप्रै मु्द्दामा लामाको नाम जोडिदै आएको छ । अपराधिक गतिविधीबाट अकुत सम्पति कमाएको आरोपमा लामा दोषी ठहर भई एक वर्ष जेल र डेढ करोड सम्पत्ति समेत जफत भइसकेको छ ।
पक्राउ पर्ने र छुट्नै क्रमको पछिल्लो उदाहरण हो काठमाडौ गौशालाको होटल पशुपति गोली काण्ड । होटलबाट पेस्तोलसहित समातिएका लामासात महिना जेल बसेर २०७५ असोजमा छुटेका हुन् ।
राजनीतिक शक्तिको आडमा लामाले अपराधलाई मलजल गरेको धेरैको बुझाई छ । तर, उनी भने आफु अपराधी नभई राजनीतिक कार्यकर्ता भएको बताउछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ