Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा प्राकृतिक विपद्धः ३३ जिल्लामा बाढीपहिरो, ७ जनाको मृत्यु हुँदा २७ बेपत्ता

नेपालमा प्राकृतिक विपद्धः ३३ जिल्लामा बाढीपहिरो, ७ जनाको मृत्यु हुँदा २७ बेपत्ता


काठमाडौं । मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण देशका ३३ जिल्लामा बाढी तथा पहिरो आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी तथा पहिरोका कारण ७ जनाको मृत्यु भएको हो ।

बाढीका कारण मंगलबारी रातीदेखी बुधबारसम्मको २४ घण्टामा मात्रै देशभर ४ जनाको मृत्यु भएको छ । सोमबारयताको तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बाढीले बगाउँदा सोमबार बाजुरामा २ जना तथा मंगलबार गोरखामा १ जनाको मृत्यु भएको थियो । मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ । यस्तै, डोटी, कास्की र पाल्पा जिल्लामा १–१ गरी बुधबार ३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् । बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एक-एक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् । यसैगरी सिन्धुपाल्चोकमा छ जना र स्याङ्जामा पहिरोमा परि एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना समेत गरेर जम्मा ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनालाई सकुशल उद्धार गरिएको छ ।

बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा देखिएको छ । बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको तथ्यांक सरकारले संकलन गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।

यता, जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने पूर्वानुमान गरिएको छ । बाढी, पहिरो र डुबानको जोखिम हुने नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ