Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसदस्यता वितरणमा सुरुदेखि नै छिद्र, लोग्ने स्वास्नी नचिन्ने नियमलाई साथी प्यारो

सदस्यता वितरणमा सुरुदेखि नै छिद्र, लोग्ने स्वास्नी नचिन्ने नियमलाई साथी प्यारो


सरल गुरुङ, ब्रिजवेन । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको सदस्यता वितरण व्यवस्थित गर्न बनेको नियमले नै जताभावी सदस्यता बाड्न मिल्ने प्रावधानहरु राखेको भेटिएको छ । यतिसम्मकी आफैले पैसा तिरेर साथीलाई सदस्यता बनाइदिन मिल्ने नियमले आफ्नै श्रीमान र श्रीमतिलाई भने सदस्यता बनाउन पैसा तिरिदिन नमिल्ने व्यवस्था राखिएको छ ।

सन् २०१९ अगष्टमा लागु भई गत मे २०२१ मा संशोधन गरिएको मापदण्डमा यसअघि विरोध भएको पे पालबाट सदस्यता शुल्क तिर्न मिल्ने व्यवस्थालाई समेत अगिंकार गरिएको छ । अघिल्लो चुनावका बेला उमेद्वारले हजारौ डलरको गिफ्ट कार्ड तथा प्रिपेड कार्ड किनेर त्यसैबाट सदस्यता शुल्क तिरि अनधिकृत रुपमा जो कोहीलाई पनि सदस्य बनाउने क्रम बढेको थियो । चुनावको मुखमा नाटकिय ढंगमा सदस्य संख्या बढेपछि धेरैले जिब्रो टोकेका थिए । एनआरएन अष्ट्रेलियाको सदस्य १२ हजार पुगेको थियो । मनलाग्दी सदस्य बनाएर चुनावी परिणाम नै उथलपुथल पार्न सक्ने डर बढेपछि यस्तो प्रवृत्ति रोक्न एनआरएनए कार्यसमितिलाई दवाव परेको थियो ।

केशव कँडेल नेतृत्वको टिमले सदस्यता वितरण मापदण्ड बनाएर गत सन् २०१९ अगष्ट देखि लागु गरेको हो । तर, नियम बनेपनि जानजान वा अन्जानमा थुप्रै छिद्रहरु राखिदा सदस्यता वितरण यसपाली पनि विवादमा परेको छ । उक्त मापदण्डमा छोडिएको छिद्रा र अस्पष्टताले अनधिकृत रुपमा सदस्य बन्ने क्रमलाई रोक्न नसक्ने भएको हो । त्यस्ता छिद्रामा टेकेर पैसा हुनेले मनलाग्दी सदस्य बनाउन सकिने अवस्था सृजना भएको छ । अरु त अरु वार्षिक साधारण सभाबाट मात्रै यो मापदण्ड शंसोधन गर्न मिल्ने व्यवस्था नियममै भएपनि बोर्ड अफ डाइरेक्टरको बहुमतको हवाला दिदै नियममा मनलाग्दी परिवर्तन गरिदै आइएको छ । कहिले पेपाल खोल्ने त कहिले बन्द गर्ने, एक जनाले शुल्क तिर्न मिल्ने सदस्य संख्या तोक्ने वा हटाउने जस्ता विषय बोड अफ डाइरेक्टरले मनलाग्दी थपघट गर्दै आएका छन् ।

जसले जति पनि सदस्य बनाउन सक्ने

नियमको ५ र ६ नम्बर बुदामा सदस्यताका लागि शुल्क तिरिदिन सकिने अवस्था र प्रावधानका बारेमा उल्लेख गरिएको छ । जसअनुसार एक व्यक्तिले आफ्नो परिवारका सदस्यहरु र नजिकको साथीको शुल्क बैंक कार्ड वा पे पालबाट तिरिदिन सक्ने व्यवस्था गरेको छ । एक जनाले कति जनासम्म साथी वा परिवारका सदस्यको शुल्क तिरिदिन सक्ने भन्ने कुरा नियममा उल्लेख छैन । यद्यपी एनआरएनका पदाधिकारीहरुले एक जनाले बढीमा जम्मा ४ जनासम्म परिवारका सदस्य र साथीको सदस्यता शुल्क तिर्न सकिने व्यवस्था रहेको दाबी गर्दै आएका छन् । तर उनीहरुको दाबी मापदण्डसंग मेल खादैन ।

५ नम्बर बुदामा लेखिएको छ -‘परिवारका सदस्यहरु तथा नजिकको साथीले मात्र सदस्यता शुल्क तिरिदिन सक्नेछन । नजिकको साथीको हकमा भने सदस्यताको निवेदन दिने व्यक्तिले उक्त साथीसंगको सम्बन्धलाई आफैले स्वघोषणा गरेर हस्ताक्षर गर्नुपर्नेछ । सदस्यता शुल्क तिरिदिएको व्यक्ति परिवारको सदस्य वा नजिकको साथी नभएको पुष्टी भएमा कानुन संभव कारवाही हुनेछ ।’

तर, नजिकको साथी भनेको के हो भन्ने स्पष्ट व्याख्या नभएकाले स्वघोषणा गरेर हस्ताक्षर गरेकै भरमा जो कसैलाई पनि सदस्य बनाएर शुल्क तिरिदिन सक्ने अवस्था सृजना भएको हो ।

साथी चिन्ने तर, श्रीमान श्रीमति नचिन्ने नियम

नियमको ५ नम्बरमा परिवारका सदस्यको परिचय झनै रोचक छ । एनआरएनए अष्ट्रेलियाको सदस्यता सम्बन्धी मापदण्डले अभिभावक, बच्चा, सौतनी बच्चा, दाजुभाई, दिदिबहिनी, धर्म दाजुभाई, धर्म दिदिबहिनी, सौतनी दाजुभाई दिदिबहिनी र हजुर बाआमालाई मात्रै परिवारको सदस्य मान्दछ । यीभन्दा बाहेकको सदस्यता शुल्क तिर्न नमिल्ने निमयमा उल्लेख छ । यस नियमलाई मान्य हो भने श्रीमान र श्रीमतिले एकअर्काको सदस्यता शुल्क तिरिदिन सक्नेछैनन् । यस विषयमा एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले यस्तो हुनु गल्ती भएको स्विकार्नुभयो ।

यसअघि काका\काकी, भतिज\भतिजी, काका काकीको छोराछोरी, साथी र चिनेको मान्छेलाई समेत परिवारका सदस्य मानिएकोमा हालै संशोधन भएर मे १ तारिखमा एनआरएनएको वेवसाइटमा अपलोड गरिएको सदस्यता सम्बन्धी नियममा हटाइएको छ ।

पे पालबाट शुल्क तिर्ने संख्या किन तोकिएन ?

सदस्यतासम्बन्धी नियमको ६ नम्बर बुदामा पेपाल र बैंक कार्डबाट शुल्क तिर्न सकिने तर गिफ्ट कार्ड र अन्य कार्डहरुबाट तिर्न नसकिने उल्लेख छ । नियम ५ मा उल्लेख भएका परिवारका सदस्य र नजिकको साथी बाहेका अन्यको शुल्क तिर्न नमिल्ने भनिएपनि नजिकका साथीको संख्या र परिभाषा एकिन नभएकाले पेपालबाट जति जनाको पनि शुल्क तिरिदिन सक्ने अवस्था छ ।

अन्तिम समयमा खोलियो पे पाल

नियममा पेपालबाट शुल्क तिर्ने व्यवस्था राखिएपनि सदस्यता आवेदन खुल्ला गर्ने बेलामा एनआरएनए अष्ट्रेलियाले बैंक कार्डबाट मात्रै शुल्क तिर्न मिल्ने घोषणा गरेको थियो । पेपालको दुरुपयोग हुनसक्ने ठानेर यस्तो निर्णय गरिएपनि अन्तिम समयमा आएर पेपाल बाट शुल्क तिर्न सकिने व्यवस्था सुरु गरिनु आश्चर्यको विषय छ । ५ हप्ता समय दिएर जुन १० तारिखसम्म खोलिएको सदस्यता आवेदनमा एक हजार जनाले पनि सस्दयता नलिएपछि पेपालबाट शुल्क तिर्न मिल्ने गरि जुन २७ तारिखसम्म म्याद थप गरिएको प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयो । उता एनआरएनए अष्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले सदस्यता आवेदन दिने एक हप्ता समय बाकी रहदा पेपालको व्यवस्था राखिनु गलत भएको बताउनुभयो ।

नेपालट्युबसंग कुरा गर्दै रेग्मीले भन्नुभयो -‘अध्यक्ष केशव कँडेलले प्राविधिकहरुलाई दबाव दिएर पेपालबाट शुल्क तिर्न मिल्ने व्यवस्था लागु गराएका हुन् ।’ गिफ्ट कार्ड र प्रिपेड कार्डलाई पेपालमा कनेक्ट गराएर परिचय लुकाई जति जनाको पनि शुल्क तरिदिन सक्ने भएकाले दुरुपयोग हुन सक्ने रेग्मी भनाई छ । ‘अन्तिम समयमा पेपाल राखिनु ढोक खुल्ला राखेर चोरलाई निम्तो दिए जस्तो हो’- महासचिव रेग्मीले भन्नुभयो । पेपालबाट तिरेको शुल्क कसले तिरेको हो भन्ने पनि हेर्न मिल्ने भएकोले अनियमिता नहुने गुरुङको भनाई छ । सबै निर्णयहरु बोर्ड अफ डाइरेक्टरको बहुमतबाट निर्णय गरिएकाले कसैलाई पक्षपात हुने अवस्था नरहेको प्रवक्ता गुरुङको भनाई छ ।

सदस्यता सम्बन्धी नियमको शब्दमा सामान्य थपघट गर्न कार्यसमिति अर्थात बोर्ड अफ डाइरेक्टरलाई अधिकार भएपनि नियमको मर्ममै असर पर्ने गरि शंसोधन गर्न भने वार्षिक साधारण सभा नै कुर्नु पर्ने नियम छ । तर, आफुलाई अनुकुल बनाउन बोर्ड अफ डाइरेक्टरको बहुमतको हवाला दिदै नियममा मनलाग्दी परिवर्तन गरिदै आइएको छ । कहिले पेपाल खोल्ने त कहिले बन्द गर्ने, एक जनाले शुल्क तिर्न मिल्ने सदस्य संख्या तोक्ने वा हटाउने जस्ता विषय बोड अफ डाइरेक्टरले मनलाग्दी थपघट गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ