Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्यानडामा उच्च गर्मी : १३० जनाभन्दा बढीको मृत्यु, जनजीवन प्रभावित

क्यानडामा उच्च गर्मी : १३० जनाभन्दा बढीको मृत्यु, जनजीवन प्रभावित


एजेन्सी, ओटावा । अहिलेसम्मकै उच्च रेकर्ड बनाउने गर्मीका कारण क्यानडाको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण दर्जनौं मानिसको मृत्यु भएको छ । भ्यानकुभर प्रहरीका अनुसार शुक्रबारयता गर्मीकै कारण १३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुमा अधिकांश वृद्धवृद्धा र कुनै न कुनै रोगसँग जुधिरहेका व्यक्तिहरु रहेको बताइएको छ ।

मंगलबार लगातार तेस्रो दिन क्यानडाको ब्रिटिस कोलम्बियास्थित लाइटनमा अहिलसम्मकै सर्वाधिक तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो साता अगाडि उक्त क्षेत्रमा तापमान ४५ डिग्री सेल्सियसभन्दा बढी मापन भएको थिएन । उत्तर पश्चिमी अमेरिका र क्यानडाको आकाशमा तातो हावाको उच्च प्रवाह हुँदा सो क्षेत्रमा गर्मी बढेको जनाइएको छ । भ्यानकुभर सहरमा मात्र ६५ जनाले गर्मीका कारण ज्यान गुमाएका छन् । बर्नबे क्षेत्रमा मात्र ३४ जनाको, सर्रे क्षेत्रमा ३८ जनाको मृत्यु भएको छ । प्रहरी सर्जेन्ट स्टिभ एडिसनले यसअघि भ्यानकुभरमा यस्तो गर्मी कहिल्यै महसुस नभएको बताउनुभएको छ । दुःखसाथ भन्नुपर्छ दर्जनौं मानिसले गर्मीकै कारण ज्यान गुमाएका छन् । यो सेवाकालको निक्कै नै पीडादायी अनुभव हो ।

इन्भाइरोमेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अलबेटासहितका ठाउँलाई चेतावनीसहितको सूचना जारी गरेको छ । अमेरिकाको पोर्टल्यान्ड र सियाटलमा पनि सन् १९४० यताकै सर्वाधिक गर्मी महसुस गरिएको छ । सियाटलमा ४२.२ डिग्री सेल्यिससम्म तापक्रम मापन गरिएको छ । तापमान थप बढ्ने आँकलनसहित सचेत गराइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ