Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपर्यटन क्षेत्रमा कोरोनाको मार, ६३ देशमा अझै यात्रा प्रतिबन्ध

पर्यटन क्षेत्रमा कोरोनाको मार, ६३ देशमा अझै यात्रा प्रतिबन्ध


काठमाडौं । विश्वभरका २९ प्रतिशत पर्यटकीय क्षेत्र अझै पनि पूर्ण रुपमा बन्द रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर ६३ वटा मुलुकले अहिले भ्रमणमा आउने पर्यटकका लागि सबै नाका बन्द गरेको पाइएको हो । कोरोना भाइरसको महामारीका कारण पछिल्लो डेढ वर्षयता निरन्तर प्रतिवन्ध सामना गर्नु परिरहेको छ ।

कुनै बेला शतप्रतिशत बन्द रहेको विश्व पर्यटन अब भने क्रमशः खुल्ने क्रममा छ । संगठनले यात्रा प्रतिवन्ध सरल बनाउने उपाय वृहत खोप अभियान भएको भन्दै खोपलाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराएको छ । अर्थतन्त्र चलायमान बनाउन पर्यटकीय गतिविधि सूचारु हुने भन्दै संगठनले प्रतिवेदनमार्फत पर्यटनमा डिजिटल माध्यमलाई बढावा दिनुपर्ने सुझाव समेत दिएको छ । आगामी केही साता पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुने भन्दै यो व्यवसायको भविश्य समेत खोपसँग जोडिएको बताइएको छ । नेपालमा दुई छिमेकी मुलुक भारत र चीन यात्रा पूर्ण प्रतिवन्ध लगाउने मुलुकमा पर्छन् । दक्षिण एसियामा भूटान र पाकिस्तान समेत यस्तै सूचीमा रहेको छ ।

नेपाल आंशिक खुला, तीन देश पूर्ण
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार आइतबारसम्म कुल तीन वटा देशले यात्रा प्रतिवन्ध पूर्ण रुपमा हटाएका छन् । यसरी प्रतिवन्ध हटाएर पर्यटकलाई स्वागत गर्ने मुलुकमा अल्वानिया, कोष्टारिका र डोमिनिकल रिपब्लिक रहेका छन् । यो विश्वको पर्यटन क्षेत्रको एक प्रतिशत अंश मात्रै हो । नेपाल भने आंशिक खुला रहेको मुलुकमा परेको छ । आफ्नो देशको सीमानालाई आंशिक रुपमा खुला गर्ने ७३ राष्ट्र छन् । यो कुल मुलुकको ३४ प्रतिशत अंश हो । दक्षिण एसियामा नेपाल र बंगलादेश यो सूचिमा छन् । यूरोप र अमेरिकी मुलुकहरु यो सूचिको अग्र स्थानमा छन् ।

३६ प्रतिशत देशको सीमाना खुला, क्वारेन्टिन अनिवार्य
पूर्ण खुला, पूर्ण प्रतिवन्ध र आशिंक प्रतिवन्धहुँदै ३६ प्रतिशत मुलुकले शर्तसहित पर्यटकको स्वागत गर्न थालेका छन् । यी देशले सबै सीमाना खुला गरेका छन् । तर, विदेशी नागरिकलाई कोरोना परीक्षण र क्वारेन्टिनको प्रावधान अनिवार्य गरिएको छ । कुल ७८ मुलुकमा यस्तो प्रावधान शुरु भइसकेको छ । यो कुल मुलुकहरुको तुलनामा ३६ प्रतिशत हो । यो सूचीमा दक्षिण एसियाका अफगानिस्तान, श्रीलंका, माल्दिभ्स परेका छन् ।

अर्थतन्त्रमा असर
विश्व पर्यटन संगठनका अनुसार विश्वभरका २९ वटा मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २० प्रतिशत भन्दा माथि रहेको छ । यस्तो योगदान गर्ने मुलुकमा माल्दिभ्सदेखि मकाउसम्म छन् । यहाँ पर्यटन नै मूख्य आम्दानीको स्रोत हो । संसारका ४७ वटा देशमा पर्यटनले कुल गार्हस्थ उत्पादनमा १०-२० प्रतिशतसम्मको योगदान गर्दै आएको छ । यो सूचीमा सिंगापुर, मलेसिया, श्रीलंका, न्यूजिल्याण्ड, यूएई, पोर्चुगल, हङकङसहितका मुलुक रहेका छन् ।

संसारभरका ८० मुलुकमा पर्यटनले ५–१० प्रतिशतसम्म जिडिपीमा योगदान गरेको छ । यो सूचीमा नेपाल, भारत, जापान, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिकासहितका मुलुक छन् । जिडिपीमा ५ प्रतिशत भन्दा कम योगदान गर्ने मुलुक २५ वटा छन् । यो कुल मुलुकको ५ प्रतिशत हिस्सा हो ।

पर्यटन क्षेत्रमा खोपको प्रभाव
महामारीका बीच आफ्नो सीमाना पूर्ण वा आशिंक बन्द राख्ने मुलुकमध्ये ७० प्रतिशत एसिया र प्रशान्त क्षेत्रका छन् । यो यस्तो क्षेत्र हो, जहाँ कोरोना भाइरस विरुद्धको खोप वितरणको काम निकै सुस्त गतिमा अघि बढेको छ । संगठनले यो विषयलाई प्राथमिकताका साथ उठाउँदै यात्रा प्रतिवन्धमा रहेको भिन्नतालाई समेटेको छ । यूरोपमा अब १३ प्रतिशत मुलुकमा मात्र प्रतिवन्ध कायम रहेको छ । अफ्रिकामा १९ र अमेरिकामा २० प्रतिशत मुलुकले मात्र सीमा नाका बन्द गरेका छन् । मध्यपूर्वी क्षेत्रका ३१ प्रतिशत राष्ट्रको सीमा नाका पर्यटक आगमनका लागि खुला गरिएको छैन ।

यस्तो छ विश्व पर्यटनमा प्रतिवन्धको पछिल्लो अवस्था
सीमानाका पूर्ण बन्दः ६३ मुलुक (२९ प्रतिशत)
सीमानाका आंशिक बन्दः ७३ मुलुक (३४ प्रतिशत)
सर्ततोकेर सबै सीमा खुलाः ७८ (३६ प्रतिशत)
पूर्णखुलाः ३ मुलुक (१ प्रतिशत)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ