Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइटाली र इंग्ल्याण्ड युरोकपको फाइनलमा

इटाली र इंग्ल्याण्ड युरोकपको फाइनलमा


एजेन्सी । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । योसँगै आइतबार राती वेम्बली स्टेडियममा इटाली र इंग्ल्याण्ड उपाधिका लागि भिड्ने भएका छन् ।बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको थियो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । बक्सको ठिक बाहिरबाट २१ वर्षीय डाम्सगार्डले फ्रिकिकबाट उत्कृष्ट गोल गरे । तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर मिलेको थियो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको थियो ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ । यस अघि इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ