Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsयुरोकप फुटबलको उपाधि इटालीलाई

युरोकप फुटबलको उपाधि इटालीलाई


एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि हात पारेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरोकपको उपाधिमाथी कब्जा जमाएको हो ।

इटालीले यसअघि पहिलो पटक सन् १९६८ मा युरोको उपाधि जितेको थियो । फाइनलमा पराजित भएसँगै इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्नबाट असफल बन्यो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटको नतिजाबाट गरिएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले असफल बनाए ।

यसअघि खेलको दोस्रो मिनेटमा किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गर्दै लुक शले इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए । इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई हराएर इटालीसँगको भेट पक्का गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ