Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअगष्ट १० मा राष्ट्रिय जनगणना । नेपाली र विद्यार्थीलाई हुनेछन् यस्ता फाइदा

अगष्ट १० मा राष्ट्रिय जनगणना । नेपाली र विद्यार्थीलाई हुनेछन् यस्ता फाइदा


सरल गुरुङ/ब्रिजवेन
आगामी अगष्ट महिनामा अष्ट्रेलियामा राष्ट्रिय जनगणना हुदैछ । हरेक ५ वर्षमा हुने जनगणनाले अष्ट्रेलियामा बसोबास गर्ने, अध्ययन गर्ने, तथा भ्रमण गर्न आएका सबै तह र तप्काका मानिसहरुको तथ्यांक संकलन गर्नेछ । यसपालीको जनगणनाले १ करोड घरधुरी र साढे दुइ करोडभन्दा बढी मानिसको तथ्यांक संकलन गर्ने तथ्याकं व्युरो अष्ट्रेलियाले जनाएको छ । यस तथ्यांकले अष्ट्रेलियाको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाको बदलिदो अवस्थालाई उजार गर्ने व्युरोले आशा लिएको छ । त्यहि तथ्यांकको आधारमा सरकारले त्यस्ता समुदायका लागि भविष्यमा कार्ययोजनाहरु बनाउदै जानेछ । कोभिडले समाजमा कस्तो प्रभाव पारेको छ भन्ने बुझ्न पनि यसपालीको जनगणना महत्वपुर्ण हुने व्युरोले जनाएको छ ।

अगष्ट १० मंगलबार तथ्यांक रात

यसपालीको जनगणनाको आधार अगष्ट १० तारिख मंगलबारको रातलाई मानिने भएको छ । त्यसरात घरमा भएका सबै मानिसको विवरण व्युरोको अनलाईन वा मेलबाट प्राप्त फारममा भर्नुपर्ने हुन्छ । सबै घरका लागि व्युरोले जुलाईको अन्तिम साता वा अगष्टको पहिलो हप्ता तथ्याकं फारम पठाउनेछ । अगष्ट १० तारिख मंगलबार राति उक्त फारममा घरमा उपलब्ध सबै मानिसको विवरण भर्नुपर्नेछ । यदि अगष्ट १० तारिख मंगलबार राति घरमा को को हुनेछन् भन्ने पहिले नै एकिन भएमा त्यसअघि नै फारम भरेर व्युरोमा पठाउने पनि सकिनेछ ।

Source-ABS

जनगणनामा को को समावेश हुन्छन् ?

राष्ट्रिय जनगणनामा अगष्ट १० तारिख राति घरमा भएका सबै मानिसको विवरण भर्नुपर्नेछ । जसमा नागरिकता र पिआर लिएकाहरु मात्रै होइन, पर्यटन भिषामा आएका आफन्त , जुनसुकै भिषाबहाक तथा अन्तराष्ट्रिय विद्यार्थीको पनि विवरण समावेश गर्नुपर्दछ । तर, देशबाहिर भएका नागरिक र पिआरधारी तथा कुटनैतिक नियोगका कर्मचारी र उनीहरुका परिवार भने जनगणनामा समावेश हुनेछैनन् ।

नेपालीका लागि किन महत्वपुर्ण

अष्ट्रेलियामा नेपाली समाज हुर्कदो छ । झण्डै ३ लाखको हाराहारीमा नेपाली बसोबास गर्ने भएपनि ठ्याक्कै एकिन तथ्यांक छैन । नेपाली संघसंस्थाले पनि तथ्याकं संकलनमा ध्यान दिन सकेको छैन । यस्तो अवस्थामा बहुसांस्कृतिक समुदायको एक महत्वपुर्ण अंग नेपाली समाजले राज्य र संघिय सरकारबाट अनुदान र सेवा सुविधा लिन अप्ठ्यारो परिरहेको छ । नेपाली समाजमा व्याप्त घरेलु हिंसा, मानसिक समस्या, एक्लोपन, कुलत, दुव्र्येसनी जस्ता समस्याको तथ्यांक समेत उपलब्ध नभएकाले यसको रोकथाममा सरकारी र गैर नाफामुलक निकायहरुले खासै काम गर्न सकेको छैन । विद्यार्थीहरुका पनि आफ्नै समस्याहरु छन् । नया“ समाजमा घुलमिल हुन नसक्दा थुप्रै समाजिक र आर्थिक समस्या भोगिरहेका छन् यहा“का नेपाली र विद्यार्थीले । त्यसैले यसपालीको जनगणनामा सबै नेपाली र नेपालीमूलका मानिसले इमान्दार भएर आफ्नो विवरण जनगणानामा भर्ने हो भने नेपाली समाजले सरकारबाट धेरै सेवा र सुविधा पाउन सक्छ । हामीले भरेको तथ्याकंका आधारमा राज्य र संघिय सरकारले हाम्रो समुदायका लागि पनि बजेट तथा कार्यक्रम विनियोजन गर्नेछ ।
व्यक्तिगत विवरणहरु निकै गोप्य राखिने भएकाले आफ्नो विवरणहरु भर्न हिच्किचाउन नपर्ने तथ्याकं व्युरोले जनाएको छ । पछिल्लो तथ्याकं अनुसार अष्ट्रेलियाको जनसंख्या २ करोड ५६ लाख छ । Photo- ABS



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ