Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia६० देशमा एनआरएनए समन्वय परिषद् निर्वाचन सम्पन्न, २० वटा परिषदहरु निष्कृय

६० देशमा एनआरएनए समन्वय परिषद् निर्वाचन सम्पन्न, २० वटा परिषदहरु निष्कृय


काठमाडौं, ब्रिजबेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् रहेका ६० वटा देशमा निर्वाचन सम्पन्न भएको छ । आगामी २०२१–२०२३ कार्यकालको लागि नयाँ नेतृत्व छनौँट गर्दै ६० वटा देशमा निर्वाचन सम्पन्न भएको हो ।

एनआरएनएका महासचिव डा. हेम राज शर्माले सार्वजनिक गरेको महाधिवेशन सम्बन्धी संक्षिप्त प्रतिवेदनमा विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समयदेखि निस्क्रिय देखिएको, निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदहरुमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको, ११ वटा राष्ट्रिय समन्वय परिषदहरुमा अनलाइनमार्फत र सात वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको जानकारी गराइएको छ । विभिन्न चार वटा राष्ट्रिय समन्वय परिषदमा कार्यसमिति चयन हुन बाँकी छन् । यूएई, डेनमार्क, पोर्चुगल र स्लोभानियाले पनि छिट्टै नयाँ नेतृत्व पाउने अपेक्षा एनआरएनएले गरेको छ ।

कुन क्षेत्रमा एनआरएनएको के छ अवस्था ?

ओसेनिया क्षेत्र
ओसेनिया क्षेत्रमा अष्ट्रेलियाले अनलाइनमार्फत निर्वाचन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । पपुवा न्यूगिनी र न्युजिल्याण्डमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन हुँदा भानुआटु निस्क्रिय एनसीसीको सूचीमा समेटिएको छ ।

अमेरिकाज् क्षेत्र
अमेरिकाज् क्षेत्रमा मेक्सिको र कोस्टारिकामा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन हुँदा चिली र अमेरिकामा अनलाइनमार्फत निर्वाचन सम्पन्न भएको छ । क्यानाडामा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न हुँदा राष्ट्रिय समन्वय परिषद् ब्राजिल भने निस्क्रिय रहेको एनसीसीको सूचीमा उल्लेख छ ।

एसिया प्रशान्त क्षेत्र
एसिया प्रशान्त क्षेत्रमा कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाइल्याण्ड र भियतनाममा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन गर्दा चीन, जापान र दक्षिण कोरियामा अनलाइनमार्फत चुनाव सम्पन्न भएको छ । ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसियाको संघ निस्क्रिय सूचीमा छन् ।

यूरोप क्षेत्र
सबैभन्दा बढी एनसीसीहरु रहेको युरोप क्षेत्रमा पनि बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेनका एनसीसीहरु निस्क्रिय पाइएका छन् । बेलारुस, चेक-रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्विट्जरल्याण्डमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन हुँदा साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूकेले अनलाइनमार्फत चुनाव सम्पन्न गरेका छन् । अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगलले भौतिक रुपमा नै उपस्थित भएर निर्वाचन सम्पन्न गरेका छन् ।

मध्यपूर्व क्षेत्र
मध्यपूर्व क्षत्रमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन गर्ने एनसीसीहरु कुवेत, ओमान र कतार रहेका छन् । यहाँ बहराइन र साउदी अरेबियाले अनलाइनमार्फत निर्वाचन सम्पन्न गर्दा इजिप्ट, इराक, जोर्डन, लेबनान र यमनका एनसीसीहरु निस्क्रिय रहेका छन् ।

अफ्रिका क्षेत्र
बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाइजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बियामा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति हुँदा अफ्रिका क्षेत्रकै लेसोथो, लिविया, मालावी, दक्षिण सुडान भने निस्क्रिय देखिएका छन् ।

एनआरएनएले विश्वभरबाट एक लाखभन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिएको जानकारी दिएको छ । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १०औं अन्तराष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको (विधानमा व्यवस्था भए बमोजिम) पठाउनु पर्नेछ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको समेत एनआरएनएका महासचिव डा. शर्माले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ