Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा देशभर बढ्दै कोरोना महामारि, रेड जोनमा काठमाडौं उपत्यका !

नेपालमा देशभर बढ्दै कोरोना महामारि, रेड जोनमा काठमाडौं उपत्यका !


काठमाडौं । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको छ । १.५ प्रतिशत मृत्यु दर रहेको नेपालमा १० हजार १८० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

देशभर कोरोना संक्रमणदर उच्च बन्दैगर्दा काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ, लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल साउनको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको बताउनुहुन्छ । डा. पौडेलले भन्नुभयो ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।’

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण गरेको छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण यसअघि नै गरेपनि नागरिकस्तरमा हेलचेक्राई बढ्दा कोरोनाको तेश्रो लहरको त्रासदी बढिरहेको छ ।

रेड जोन बन्दै काठमाडौं
जनस्वास्थ्यविद्का अनुसार काठमाडौँ जिल्ला रेड जोनमै पुगिसकेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली पनि जोखिम अत्यधिक भएकाले निषेधाज्ञामा कडाइ हुन सक्ने बताउँछन् । कोरोनाभाइरसको संक्रमण दर बढ्न थालेकाले जारी आदेश जुनसुकै बेला पुनरावलोकन हुन सक्नेमा प्रशासन कार्यालयले सचेत गराउँदैआएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । आज राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएपनि जोखिमको अवस्था हेरेर थप कडाई गरिनेगरि स्वास्थ्यविज्ञहरुसँग परामर्श भैरहेको छ ।

खोप लगाएका समेत जोखिममा
कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन् । नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा जटिल समस्यासमेत देखिएको कोभिड १९ उपचारमा संलग्न चिकित्सकले बताउने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाएपछि संक्रमित भएर दैनिक २ देखि ३ जना यो अस्पतालमा आउने गरेका छन् । दुवै डोज खोप लिएर पनि जटिल समस्या देखिएका दुईचार जना बिरामीले खबर गरेको सरुवा रोग अस्पतालकै डा. शेरबहादुर पुनले जानकारी दिए ।

चिकित्सकका अनुसार खोप लगाएर एन्टिबडी बनिनसकेकाहरू पुनः संक्रमित भएर उपचारमा आएका हुन् । पहिलो डोज खोप लगाउनेबित्तिकै संक्रमित भएर अस्पताल धाउनेहरु धेरै रहेका छन् । दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणले जटिल समस्या ल्याउन सक्छ । खोप लिएर शरीरमा कोभिड १९ विरुद्ध एन्टिबडी बनेको अवस्थामा पनि संक्रमित हुन्छन् । एन्टिबडी बनेपछि संक्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन । तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने जोखिम उच्च भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन चिकित्सकहरुले आग्रह गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ