Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता, राष्ट्रपति घानीले देश छाडे

अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता, राष्ट्रपति घानीले देश छाडे


काठमाडौं, एजेन्सी । अमेरिकी सेनाले छाडेको ४५ दिनमै असरफ घानीको अफगान सत्ता ढलेको छ । विद्रोही संगठन तालिवानले धम्की दिएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । यस्त तालिवानको धम्कीलाई कारण देखाउँदै उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बताइएको छ ।

राष्ट्रपति घानीले देश छाडेसँगै तालिवानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका छन् । उनीहरुले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् । अफगानिस्तानको यो नाम अमेरिकाले आफ्नो सहयोगमा सरकार बनाउनुअघि चल्तीमा थियो । राजधानी शहर काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै तालिवानी विद्रोहीले सरकार गठन गर्ने संकेत गरेका छन् । पछिल्लो १० दिनमै अफगानिस्तानका धेरै शहर विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

अमेरिकी सेनाले बग्राम एयरबेस छाडेको एक महिनापछि अगष्ट ६ मा तालिबानले पहिलोपटक निम्रुज प्रान्तको जारन्ज सहरलाई नियन्त्रणमा लिएको थियो । त्यसयता निरन्तर उसले एकपछि अर्को प्रान्तीय राजधानीमा कब्जा जमायो । पछिल्लो १० दिनमा मात्र तालिबानले मुलुकको दुई तिहाइभन्दा धेरै प्रान्तीय राजधानी नियन्त्रणमा लिएको छ । अहिले अफगानिस्तानको राजधानी काबुल समेत तालिवानको नियन्त्रणमा आएको छ । सरकारका भन्दा लडाकु गतिबिधिहरु ब्ढ्न थालेका छन् । जबकी एक महिनाअघिसम्म सबै प्रान्तीय राजधानी अफगानिस्तान सरकारको कब्जामा थियो । २० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबानको पुनरोदयले सिंगो देशभर त्रासदी फैल्याएको छ ।

अमेरिका, बेलायत लगायका राष्ट्रहरुले आफ्ना नियोगका कर्मचारीलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहँदा विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला लिने पक्षमा नरहेको प्रष्ट पारेको छ । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीका क्रममा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक भएको बताएका छन् । ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं’ शाहीनले भनेका छन् । उनले तालिवानको सरकारमा तालिवानमा आवद्ध नभएका अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहने विश्वास समेत दिलाएका छन् । तालिवानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको छ ।

अफगानिस्तानमा रहेका नेपाली पर्काउने पहलमा सरकार
सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जानकारी दिएको हो । अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् । परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि + ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न भनिएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ । यस्तै, अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न सरकारले संयन्त्र नै बनाएको छ भने अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक सरकारले मागेसँगै वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

अफगानिस्तानमा कति नेपाली छन भन्ने एकिन तथ्यांक खोज्दै सरकार
बैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार पछिल्लो डेढ वर्षमा करिब १२ सय जना नेपाली वैधानिक रुपमा अफगानिस्तान पुगेका छन् । अवैध बाटो भएर कति जना अफगानिस्तान पुगेका छन भन्नेबारे यकीन जानकारी सरकारसँग छैन । दुबईका सेक्युरिटी कम्पनीहरुले पनि अफगानिस्तानमा पठाउने गरेका छन् । जुन विवरण नेपालमा उपलब्ध छैन ।

सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरेपछि अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांक छ । यीमध्ये ५ हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र ३ हजार ३ सय २३ म्यानपावरमार्फत संस्थागत श्रम स्वीकृतिमा गएको पाइएको छ । यीमध्ये कति नेपाल फर्किए भन्ने जानकारी सरकारसँग छैन । अर्कोतर्फ अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ । यसरी अफगानिस्तानमा १८ हजार हाराहारि नेपाली रहेको आँकलन गरिएको छ । सरकारले उद्धार गर्नुपर्ने मानिसको संख्या यकिन भएपछि उद्धारका लागि जहाज लैजाने बताइएको छ । यसका लागि कम्तीमा ५ दिनको समय लाग्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ