Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगान तालिवानको कब्जामा, कस्ले गर्लान सत्ताको नेतृत्व ?

अफगान तालिवानको कब्जामा, कस्ले गर्लान सत्ताको नेतृत्व ?


एजेन्सी, काठमाडौं । देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले तालिवानले जितेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै घानीले अफगानी जनताको सम्मान, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको भन्दै रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको जनाएका छन् ।

यता, राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै तालिवानले विजयको घोषणा गरेको छ । तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनमा प्रवेश गरेसँगै छिट्टै स्लामिक स्टेट अफ तालिवानको घोषणासँगै नयाँ सरकार बन्ने बताइएको छ । तालिबानका प्रवक्ताले अफगानिस्तानमा युद्ध सकिएसँगै देशको मुक्ति र जनताको स्वतन्त्रता प्राप्त गरेको दाबी गरेका छन् । विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने र नयाँ सरकार बनाउने बताएसँगै कस्ले सत्ताको नेतृत्व गलार्न त? भन्ने चर्चा सुरु भएको छ ।

अफगानिस्तानको विद्रोही समूह तालिवानले देशका सबै प्रमुख शहरहरु र राजधानी काबुल कब्जामा लिनुअघि नै राष्ट्रपति घानी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडिसकेका छन् । पुरानो सत्ता ढलेसँगै अब अफगानिस्तानको नयाँ सत्ता कुन तालिवानी नेताको हातमा जाला त ? अहिले तालिवानको नेतृत्व गर्दै आएका मुल्ला अब्दुल घानी बरादर र हिब्तुल्लाह अखुदजादाको नाम चर्चामा छ ।

मुल्ला अब्दुल घानी बरादर
इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्ला वीटमाक गाउँमा सन् १९६८ मा भएको हो । उनको सम्बन्ध दुराणी आदिवासी समुदायसँग भएको अनुमान गरिन्थ्यो । पूर्वराष्ट्रपति हामिद करजई पनि दुराणी नै थिए । मुल्ला सन् १९९४ मा तालिवान समूहको गठन गर्ने चार जनामध्येका एक नेता हुन् । उनीसहित अन्य तीन जना मिलेर तालिवान समूहको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हराएपछि उनी नेटो सैन्य बलको विरुद्ध विद्रोह गर्ने प्रमुख थिए । पछि सन् २०१० को फेब्रअरीमा अमेरिका र पाकिस्तानले गरेको संयुक्त अभियानमा मुल्ला बरादर पाकिस्तानको कराँची शहरबाट पक्राउ परे । सन् २०१२ सम्म मुल्लाका बारेका खासै चर्चा थिएन । अफगानिस्तानी सरकारलाई शान्ति वार्ताका लागि बन्दीहरुको रिहाईको माग गरिएको समयमा मुल्लाको नाम सबैभन्दा अगाडि आएको थियो । सन् २०१३ को सेप्टेम्बरमा पाकिस्तानी सरकारले उनलाई रिहा गरेपछि केही समय उनी पाकिस्तानमै रहे वा अन्यत्र गए भन्ने विषयले चर्चा पायो ।

मुल्ला बरादर तालिवानी नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा नजिकका विश्वास पात्र थिए । मुल्ला मोहम्मदर उमर पक्राउ परेपछि मुल्ला बरादर तालिवानको दोस्रो सबैभन्दा ठूला नेताका रुपमा दरिए । मुल्ला बरादरले शान्ति वार्ताका लागि तालिवानी नेताहरुलाई सहमत गराउन सक्छन् भन्ने विश्वास अफगानी सरकारी अधिकारीहरुले लिदैआएका थिए । सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नका लागि तालिवानको कार्यालय खुलेपछि उनले तालिवानको राजनीतिक दलको प्रमुखको जिम्मेवारी पाए । मुल्ला बरादर अमेरिकासँग वार्ता गर्न सकारात्मक रहँदै आएका थिए । सन् १९९४ मा तालिवानको गठन गरेपछि उनले कमाण्डर र रणनीतिकारको भूमिका निर्वाह गरेका थिए । उनी मुल्ला उमरको नेतृत्वकालमा तालिवानका लागि फण्ड जुटाउने र नियमित कार्यक्रमका प्रमुख थिए । उनले अफगानिस्तानको सबै युद्धहरुमा तालिवानका तर्फबाट अहम भूमिकामा रहँदै आएका थिए । पछिल्लो समय उनी काबुल क्षेत्रमा सक्रिय रहेका थिए ।

यसअघि तालिवानलाई सत्ताबाट हटाएपछि मुल्ला बरादर तालिवान विद्रोही संगठनको प्रतिनिधि रक्षा मन्त्री बनेका थिए । उनकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिवानको सबै हिसाब–किताब उनी नै राख्ने गर्छन् । उनी अफगानी फोर्सको विरुद्ध सबैभन्दा खुङखार हमलाको नेतृत्व गर्ने कमाण्डरका रुपमा समेत दरिएका छन् । तालिवानका अन्य नेताहरुलाई जस्तै मुल्ला बरादरलाई पनि संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको थियो । सन् २०१० मा पक्राउ पर्नुभन्दा पहिले उनले सार्वजनिक बयान दिएका थिए । अफगानिस्तानमा भएको अमेरिकाको उपस्थितिमाथि खरो प्रतिक्रिया जनाउने उनी आफ्नो जमिनमा दुश्मनको अन्त्य नभएसम्म जिहाद (मुश्लिम धर्मअनुसार दुष्टहरुको विनाशका लागि धार्मिक युद्ध) चलिरहने अडानमा अडिग थिए ।

हिब्तुल्लाह अखुदजादा
हिब्तुल्लाह अखुदजादा अफगानिस्तानको तालिवानका नेता हुन् । इस्लाम धर्मका विद्वान उनी कन्दाहारसँग सम्बन्ध राख्छन् । उनले तालिवानलाई दिशानिर्देश गरेको र वर्तमान अवस्थासम्म ल्याएको विश्वास गरिन्छ । काबुलपछिको सबैभन्दा ठूलो शहर कन्दाहारमा तालिवान समूहको पकड बनाउन उनको ठूलो हात रहेको बताइएको छ । सन् १९८० को दशकमा उनले सोभियत संघको विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरे । त्यतिबेला उनको परिचय सैन्य कमाण्डरभन्दा धार्मिक विद्वानको रुपमा बन्यो । उनी अफगानिस्तानस्थित तालिवान समूहको शीर्षनेता बन्नुअघि धर्मसँग जोडिएका तालिवानका सबै आदेशहरु दिने गर्थे ।

हिब्तुल्लाह तालिवानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरका प्रतिनिधि पात्र थिए । मन्सुरको सन् २०१६ को अमेरिकी ड्रोन हमलामा मृत्यु भयो । मन्सुरले हिब्तुल्लाहलाई आफ्नो हकदार घोषित गरेका थिए । पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेट तालिवानी शीर्षनेताहरुसँग भएको थियो । उक्त भेटमा उनलाई तालिवानी नेताहरुले तालिवानको प्रमुख बनाएका थिए । करिब आठ वर्ष हिब्तुल्लाहले अफगानिस्तानमा बिताए । उनको क्वेटामा शुरा समूहसँग पनि नजिकको सम्बन्ध रह्यो । हिब्तुल्लाहको नाम मायने हो । उनी नुरजाई कबीलेसँग सम्बन्ध राख्छन् ।बीबीसीको सहयोगमा ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ