Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशका जेलमा ५ सय ४५ जना नेपाली श्रमिक, २५ जनालाई मृत्यु दण्डको सजाय

विदेशका जेलमा ५ सय ४५ जना नेपाली श्रमिक, २५ जनालाई मृत्यु दण्डको सजाय


काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिनु परेको छ । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक विदेशमा जेल परेका हुन् ।

यसरी रोजगारीका लागि पुगेका गन्तब्य मुलुकमा जेल पर्नेमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् । जेलमा रहेका नेपाली मध्ये २५ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको बोर्डले जानकारी दिएको छ । १६ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । कुवेतमा ९ जनालाई, यूएईमा ४ जनालाई र कतारमा ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको हो ।

बहराइनमा २ जना नेपाली २५ वर्षको जेल सजाय, कुवेत, कतार र बहराइनमा एक एक जना नेपाली श्रमिक १५ वर्षको जेल सजाय भोगिरहेका छन् । कुवेतमा रहेका ३१, यूएईमा ४ र बहराइनमा १ गरी ३६ जना नेपाली १५ वर्षभन्दा कमको जेल सजाय भोगिरहेका छन् । यस्तै सरकारी तथ्यांक अनुसार २९ जनालाई १० वर्षभन्दा कम, १ जना पाँच वर्षभन्दा कम, ४४ जनालाई एक वर्षभन्दा कम, ७५ जना नेपाली तीन महिनाभन्दा कम समयको जेल सजाय भोगिरहेका छन् । २ सय ९३ जनाको सजाय तोक्न बाँकी रहेको र १८ जनालाई जरिवाना तोकिएको वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

कुन देशमा कति नेपाली जेल सजाय भोग्दैछन् ?
वैदेशिक रोजगार बोर्डका अनुसार खाडीको देश कुवेतमा ३ जना महिला र ५५ जना पुरुष गरी ५८ जना, यूएईमा १२ जना महिला र १७३ जना पुरुष गरी १ सय ८५ जना, ओमानमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना र बहराइनमा ५ जना, मलेसियामा २ जना महिला र २०३ जना पुरुष गरी २०५ जना नेपाली श्रमिक जेलामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ