Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा पनि धुमधाम भयो थारुको माघी ।

अष्ट्रेलियामा पनि धुमधाम भयो थारुको माघी ।


सिड्नी
अष्ट्रेलियाका थारु समुदायले पहिलो पटक सार्वजनिक कार्यक्रम गरेर माघी पर्व मनाएका छन् ।
थारु सोसाईटी अष्ट्रेलियाले माघे संक्रान्ति कै दिन पारेर गत मंगलबार सिड्नीको टेम्पे पार्कमा माघी मनाएको हो । पार्कमा १ सय ५० जति थारु गरि ३ सय जना जतिको सहभागिता थियो । कार्यक्रममा थारु संस्कृति झल्कने भेषभुषा, परिकार र नृत्य विशेष आकर्षण बनेको थियो ।

कार्यक्रममा अन्य समुदायका कलाकारले पनि सांस्कृतिक प्रस्तुती दिएका थिए । थारु संस्कृतिलाई बचाइराख्न माघीपर्व आयोजना गरिएको सोसाईटीका अध्यक्ष दिपनारायण चौधरीले बताउनुभयो ।
माघी पर्वमा सहभागी हुन नेपालबाट सांसद पद्यनारायण चौधरी पनि अष्ट्रेलिया आउनुभएको थियो । सांसद चौधरीले माघी पर्वमा सार्वजनिक बिदा दिनका लागि आफुहरुले संसदमा दवाव दिइरहेको बताउनुभयो ।

के हो माघी पर्व

माघे संक्रान्तिलाई नेपालका थारु समुदायले माघी पर्वको रुपमा मनाउछन् । थारु समुदायको प्रमुख चाड माघीलाई नयाँ वर्षको रुपमा समेत मनाउने चलन छ ।

यो पर्वमा विशेषत प्रकृति पूजा गरिन्छ । प्रकृतिले हुर्काएको भन्दै उनीहरुले सो पर्वमा खोला, तलाउमा नुहाएर प्रकृतिको पूजा गर्ने गरेका हुन् ।
पश्चिम तराईका पाँच जिल्लामा माघी तीन दिन सम्म मनाइन्छ ।

थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना बनाउने गर्छन्। यसरी बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँ स्तरमै बनाईने चलन छ।

माघीको पहिलो दिन गाउँघरमा सुङ्गुर वा बङ्गुर काटेर मिठो मसिनो खाइन्छ । जसलाई जिता भन्ने चलन छ। बर्षको अन्तिम दिन भएको हुनाले मिठो खाँदै मनोरञ्जन गर्ने चलन रहि आएको छ।
खानपिनपछि सहमति अनुसार घररघरमा जम्मा भएर धमार गीत गाउँदै रातभरी जाग्राम बस्ने चलन रहेको छ। मकर सङ्क्रान्ति अर्थात माघ १ गतेका दिन पोखरी, दह, तलाउमा नुहाउने चलन छ। यो दिन नुहाउनाले बर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने गरेको समुदायमा बुझाइ छ। यो दिन पशुपंक्षी बध हुदैंन।

बिहानै नुहाएपछि घरमा राखिएको अन्न भण्डार छोएर आफूभन्दा ठूलाको आशिर्वाद लिने र सानालाई दिने गरिन्छ। यसदिन गाउँघरका सबै आफन्तबीत भेटघाट हुने गर्दछ। थारुहरु यो दिनलाई मित्रता र मिलनको दिन मान्छन्। आपसी वैमनष्यता बिर्सेर यो दिन संगै रमाइलो गर्ने चलन छ।

मकरसङ्क्रान्तिका दिन अन्न भण्डार छुने र त्यसलाई आफ्नो बिवाहित छोरीचेलीका स्वामित्व हुने गरेर छुट्टयाइ सकेपछि तरुल, फलफूल, ढिक्री, माछामासु खाने चलन छ। यसैदिन थारुहरुको नयाँ बर्ष सुरु हुन्छ।
माघीको तेस्रो दिन खिच्रहुवा हो। यसदिन पनि पशुबध निषेध गरिएको हुन्छ। खिच्रहुवाका दिन थारुहरुले शुद्ध खानाको रुपमा खिचडी भात खाने र आफन्तरछिमेकीहरुलाई बाँड्ने चलन छ। यसदिन माघमा पाहुना बस्न आएका आफन्त तथा उनका सन्तानहरुलाई मेला भर्न लगिने चलन पनि छ।

यसैदिन घर घरपरिवारमा पनि अघिल्लो बर्षभरी गरेको कामको समिक्षा र आउने बर्षको लागि सरसल्लाह हुने गर्दछ। यो दिन घरमूली राख्ने वा अर्कालाई छान्ने निर्णय हुन्छ।

माघीको चौथो दिन मकरसङ्क्रान्तिको बेला छोएर राखेको चामल अन्य समान आफ्नो विवाहित छोरीचेलीलाई उपहार दिने गरिन्छ जसलाई निस्राउ भन्ने चलन छ। यहि दिनदेखि माघीको विधिवत रुपमा अन्त्य भइ भोज विवाहका कार्यक्रम सुरु हुने गर्दछ।

घरपरिवारमा आपसी कलह वा झगडा भएको भए आपसी सहमति अनुसार अंशबण्डा गर्ने काम पनि सुरु हुन्छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ