Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब नेपाल टेलिकमबाटै ‘नमस्ते–पे’ मोबाइल वालेट सेवा

अब नेपाल टेलिकमबाटै ‘नमस्ते–पे’ मोबाइल वालेट सेवा


काठमाडौं । नेपाल टेलिकमले आजबाट ‘नमस्ते–पे’ मोबाइल वालेट सेवा सुरु गरेको छ । गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको टेलिकमले मोबाइलबाट वित्तीय सेवा दिने गरी ‘नमस्ते–पे’ मोबाइल वालेट सुरु गरेको हो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजबाट ‘नमेस्ते पे’ को आधारभूत सेवा सुरु गरेको जानकारी दिनुभयो । डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन र क्यासलेस सोसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न यसले महत्वपूर्ण योगदान दिने दाबी गर्दै प्रबन्ध निर्देशक अधिकारीले यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिने बताउनुभयो । एसएएसडी भनेको अहिले स्टार १४१५ ह्यास डायल गरेर सेवाका लागि इन्टरनेट नहुँदा पनि गर्न सकिने ‘अनुरोध प्रणाली’ भएको बताइएको छ । यो कम्पनीले ‘युटिलिटी पेमेन्ट सर्भिस’ सहित मोबाइल मनी प्रविधिमा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्ने बताइएको छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब छ ।

टेलिकमसँग ठूलो नेटवर्कसँगै करोडभन्दा बढी ग्राहक छन् । धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो फड्को मार्न सकिने विश्वास गरिएको छ । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर) का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्नसक्ने व्यवस्था गरेको छ । सरकारी तवरबाटै डिजिटल बैंकिङ सेवा उपलब्ध गराउन नेपाल टेलिकमले भूमिका खेल्नुलाई सकारात्मक सुरुवात मानिएको छ । मोबाइल वालेट, डिजिटल वालेट वा ई–वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था गरिएको छ । तोकिएबाहेकका बैंकिङ सेवा भने दूरसञ्चार प्रदायकहरुले दिन पाइँदैनन् । अहिले बैंकहरुले नै मोबाइल बैंकिङ सेवा उपलब्ध गराउँदैआएका छन् । धेरै देशहरुमा बैंकहरुलाई दूरसञ्चार कम्पनीका सेवाले टक्कर दिइरहेका छन् । नेपालमा भने दूरसञ्चार कम्पनीले बैंकिङ सेवा थालेको यो नै पहिलो हो ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने अपेक्षा छ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने विश्वास गरिएको छ । टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुनसक्छ । माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा प्राप्त गर्न सकिने भएपनि टेलिकमले नेपालमा कस्ता–कस्ता सेवा दिन्छ त्यो भने हेर्न बाँकी नैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ