Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनको चुनाव कात्तिक ३ गते नै, विज्ञप्तीमार्फत परराष्ट्रलाई निष्पक्ष निर्वाचन हुने जवाफ

एनआरएनको चुनाव कात्तिक ३ गते नै, विज्ञप्तीमार्फत परराष्ट्रलाई निष्पक्ष निर्वाचन हुने जवाफ


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हाल देखिएको विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक हुने जानकारी गराएको छ । संस्थापनले निर्वाचन प्रतिनिधि गोलमाल गरेको आरोपसहित असन्तुष्ट समूहका तीन जनाले परराष्ट्र मन्त्रालयमा दिएको उजुरी र निर्वाचन प्रक्रिया रोक्न मन्त्रालयबाट आएको निर्देशनको जवाफ दिदै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मातहतको निर्वाचन कमिटिले धाँदली नहुने आश्वस्थ पारेको हो ।

परराष्ट्रले निष्पक्ष निर्वाचन हुने आधार के भन्दै रोक्न निर्देशन दिएपछि अब एनआरएनले निर्वाचन के होला भन्नेबारे एनआरएनए वृत्तमा चासो उत्पन्न भइरहेको बेला समितिले शुक्रबार विज्ञप्तिमार्फत सबै प्रश्न र अन्योलताको जवाफ फर्काएको छ । ‘निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ’, समितिले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ । निर्वाचन सम्पन्न गर्नका लागि अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति बनेर सो समितिले गत जुलाईदेखि काम गरिरहेको संघले जानकारी गराएको छ ।

जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरूलाई नियाल्दै आएको निर्वाचन समितिले विवाद समाधान गरेर आगामी २० अक्टोबर (कात्तिक ३ गतें) नै चुनाव गराउने गरि अघि बढेको समेत जानकारी गराएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्तावसँगै तयारी भइरहेको, विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको र हाल उपलब्ध नामावलीको अन्तिम प्रमाणीकरणको काम भइरहेकाले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन सम्भव हुने बताइएको छ। गैरआवासीय नेपाली संघको इतिहासमै पहिलोपटक अनलाइन प्रणालीमार्फत हुने निर्वाचनको स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको दाबी समितिले गरेको छ । ‘प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरुले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो अनिवार्य पठाउनुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सबै मतदाताहरूलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । मतदाताले आफ्नो डिभाइसमा फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान राखिएको छ । यसलाई पनि निर्वाचन समितिले निष्पक्षताको आधार भनेको छ । पौडेल नेतृत्वको एनआरएनएको निर्वाचन समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान), सदस्यरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिवी ढकाल (यूके), डा.विष्णुमाया परियार (अमेरिका), डा.देवकाजी डंगोल (कतार), डा.गणेश गुरुङ (नेपाल) रहेका छन् । निर्वाचन समितिमा समेत पक्षधरता नभएको दाबी गरिएको छ ।

एनआरएनए निर्वाचन समितिको प्रेस विज्ञप्ति :
गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।
गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ ।
गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए membership@nrna.org मा पठाइ दिन हुन समेत सुचित गरिन्छ । आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ । निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।
निर्वाचन समिति,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
१७ सेप्टेम्बर २०२१



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ