नेपालको परिवर्तित राजनीतिको प्रभाव एनआरएनएमा, यस्तो बन्दैछ चुनावी गठबन्धन

काठमाडौं, निर्वाचन प्रतिनिधिसम्बन्धी विवादका कारण परराष्ट्रले एनआरएनएको सम्पूर्ण निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएसँगै तोकिएको मितिमा चुनाव हुने वा नहुने भन्ने अन्योल कायमै रहँदा पुरानो राजनीतिक समिकरणमा फेरबदल देखिने भएको छ । संघको दशौँ विश्व सम्मेलन तथा निर्वाचनमा नेपालको परिवर्तित राजनीतिक समीकरणको प्रभाव पर्ने संकेतहरु देखिन थालेका हुन ।
एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराबाट प्रेरित संघका अभियन्ताहरु नेपालमै रहेको राजनीतिक समीकरणअनुसार चुनावी अभियानमा होमिने गरेका छन् । बिगतको बाम भर्सेस लोकतान्त्रिक प्रतिस्पर्धाको समिकरण भत्किएर अब बाम–लोकतान्त्रिक गठबन्धन बन्ने भएको छ । संसदको संस्थापन समूहबाट एनआरएनएको अध्यक्षमा रसिया निवासी डा. बद्री केसी भिड्दै हुनुहुन्छ । अर्कोतर्फ गत चुनावमा थोरै मतले पराजित बनेका बेलायत निवासी कुल आचार्य अध्यक्षका प्रत्यासी बन्दा अमेरिका निवासी रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । मुख्य प्रतिस्पर्धा आचार्य र केसीबीच नै हुने आँकलन गरिदैगर्दा फेरिने समिकरणको प्रभाव निर्वाचनमा पर्ने देखिएको छ । विगतमा आचार्यले वामपन्थीहरूको विश्वास पाएका कुमार पन्तसँग काँग्रेसको एक्लो समर्थन लिएर प्रतिस्पर्धा गरेका थिए ।
यसपटक वामपन्थीहरु फुटेको प्रभाव एनआरएनएहरुको मोर्चामा समेत देखापर्न थालेको छ । विगतमा अध्यक्ष जितेका कुमार पन्तलाई तत्कालीन नेकपासँगै काँग्रेसको एउटा समूहले सघाएको थियो । अहिले नेकपा फुटेको अवस्था छ । पन्तको प्यानलबाट नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी बनेका बद्री केसीसहितको टीमलाई ओली नेतृत्वको एमाले प्यानलको रुपमा हेर्न थालिएको छ । अघिल्लो चुनावमा काँग्रेस निकटस्थहरुको पनि पूरै साथ नपाएका कुल आचार्यसँग माओवादी नजिकका एनआरएनएहरु गठबन्धनको तयारीमा जुटेका छन् । यस्तै एमाले फुटेर गठन भएको एकीकृत समाजवादीसँग निकट रहेका प्रवासी नेपालीहरुले पनि केसीको साटो आचार्यलाई रोज्ने आँकलन गरिएको छ ।
संघका नेताहरु नै एनआरएनएमा आचार्यको नेतृत्वमा वाम–लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास जारी रहेको स्विकार गरिरहेका छन् । एनआरएनएको नयाँ नेतृत्वका प्रत्यासी आचार्य एनआरएनए राजनीतिक चेतना भएको संगठन भएकाले खुलमखुला दलको भ्रातृ संगठनजसरी चुनाव हुने अवस्था नरहे पनि विचार मिल्नेहरु एक ठाउँमा हुनसक्ने प्रतिक्रिया दिनुहुन्छ । यसले पनि अघिल्लो चुनावमा बनेको समीकरणमा फेरबदल आएसँगै एनआरएनए वृत्तमा तरंग उत्पन्न भएको सहजै आँकलन गर्न सकिन्छ । नेपालको नयाँ राजनीतिक समिकरणको प्रभाव स्वरुप एनआरएनको चुनावी भिडन्त रोचक बन्ने देखिएको छ ।
आचार्य नेतृत्वको गठबन्धनले कुमार पन्त निकट बद्री केसी नेतृत्वको टीमसँग चुनाव लड्ने छ । एनआरएनएमा पनि नेपाललाई माया गर्ने र परिवर्तनको पक्षमा उभिनेहरुको गठबन्धन बनाउनुपर्छ भन्ने लबिङ सुरु भएको छ । वाम–लोकतान्त्रिक गठबन्धन बने पनि काँग्रेसकै केही व्रिदोही नेताहरु भने केसीतिरै रहनेछन् । काँग्रेस निकट भए पनि पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान महासचिव हेमराज शर्मालगायतका केही एनआरएनहरु केसी समूहतिरै रहने आँकलन भैरहेको छ । यो समूह विगतदेखि नै केसीसँगको व्यवसायिक साझेदारी एवं सहकार्यमा रहँदैआएको छ । हुनत माओवादीनिकटका अधिकांश प्रवासी नेताहरु आचार्य नेतृत्वको गठबन्धनतिरै खुलिसकेपनि केही केसीतिर लाग्ने दाबी गरिएको छ ।
एनआरएनए चुनावको सम्भावित ‘प्यानल’
एनआरएनएमा प्यानल बनाएर चुनाव लड्न नपाइने भएपनि आन्तरिक रुपमा प्यानल बनाएर सर्कुलर हुँदैआएको छ । यहि गठबन्धनको परम्परा अनुसार नै आचार्यको टीमबाट उपाध्यक्षमा आरके शर्मा, त्रिलोक गुरुङ, महेश श्रेष्ठ, मन केसीलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । कुल आचार्यको प्यानलबाट महिला उपाध्यक्षमा जानकी गुरुङ, युवा उपाध्यक्षमा राजु रेग्मी, महासचिवमा डा केशव पौडेल, सचिवमा खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ र नारायण आचार्यको नाम चर्चामा छ । कोषाध्यक्षमा लोक प्रसाद दाहाल, सहकोषाध्यक्षमा रोबिन्द श्रेष्ठ (गोविन्द), महिला सहकोषाध्यक्षमा जानकी पौडेल, युवा संयोजकमा मनोज गोर्खाली, महिला संयोजकमा संगीता मरहठ्ठालगायतको नामबारे छलफल चलिरहेको छ । यो मोर्चाबन्दीले अन्तिम रुप लिन केही समय लाग्ने देखिन्छ । आचार्यको प्यानलबाट क्षेत्रीय संयोजक, उपसंयोजकलगायतको धेरै नाम आएकाले अन्तिम नामावली बारे छलफल जारी छ ।
यता, बद्री केसी प्यानलबाट उपाध्यक्षमा धर्मराज अधिकारी, हेमराज शर्मा, डिबी क्षत्री, शिवकुमार बरुवालको उम्मेदवारी आउने निश्चित जस्तै छ । मध्यपूर्वबाट प्रतिनिधित्व गर्ने क्षेत्री माओवादी निकट मानिए पनि केसीकै पक्षमा खुलेपछि गठबन्धनतर्फ तान्ने प्रयास पनि भइरहेको पाइएको छ । केसीको प्यानलबाट महिला उपाध्यक्षमा यासिमा बेगम, महासचिवमा गौरीराज जोशी, सचिवमा चिरञ्जीवी घिमिरे, अजीव गुरुङ, रामशरण सिम्खडा, कोषाध्यक्षमा राजन त्रिपाठीलगायतले चुनाव लड्ने गरि आन्तरिक तयारीलाई तिब्रता दिएका छन् ।
परराष्ट्रको पत्रले हल्लीखल्ली मच्चिएको एनआरएनमा चुनाव रोक्ननहुनेमा सबै एकमत देखिएका छन् । एनआरएनएमा अध्यक्षसहित ४२ पदका लागि निर्वाचन हुनेछ । सबै निर्वाचन प्रक्रिया भर्चुअल माध्यमबाट हुनेछ । आगामी अक्टोबर २० (कात्तिक ३ गते) नयाँ नेतृत्वको लागि चुनाव हुन लागेपनि नेपालस्थित परराष्ट्र मन्त्रालयले उजूरीपरेपछि रोक्न निर्देशनसहितको पत्राचार गरेको छ । चुनावी प्रक्रिया सकिएपछि अक्टोबर २३ अर्थात कात्तिक ६ देखि ८ गतेसम्म विश्व सम्मेलन गर्ने योजनासहित एनआरएनए भने पूर्वतयारीमा जुटेको छ ।
तपाईको प्रतिक्रिया