Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन देशमा घटेका प्रमुख ५ खबर

नेपाल अपडेट : यस्ता छन देशमा घटेका प्रमुख ५ खबर


काठमाडौं । नेपालमा मंगलबार विभिन्न राजनीतिक भेला बैठकदेखी केही नीतिगत निर्णयहरु भएका छन् । सरकार विस्तारको पहलसँगै एकिकृत समाजवादीको बैधानिकता बारे अदालतले गरेको अन्तरिम आदेश, सत्ता गठबन्धनको निरन्तरताको बहस र राजश्व संकलनको अवस्था बारेका प्रमुख पाँच खबर यस्ता छन् ।

परराष्टमन्त्री नियुक्तिको तयारी
लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ । मंगलबारको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा सहमती जुटेसँगै बुधबार सपथ सुवाउने बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे दबाबमा प्रधानमन्त्री देउवा देखिएका हुन । यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको सहमति बेगर एकलौटीरुपमा मन्त्री नियुक्त गरिएमा नमान्ने चेतावनी दिएको छ ।

एमाले सांसद कारबाही प्रकण
नेकपा (एमाले)ले कारवाही गरेका लुम्बिनीका २ प्रदेशसभा सदस्यसहितका १६ जना सांसद पदमुक्त गर्नुपर्ने सम्बन्धी मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ । न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता गरेको भन्दै नेकपा एकिकृत समाजवादी अबैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चको कारण देखाउ आदेशले नेकपा एसका सांसदको पद तत्काललाई जोगिएको छ ।

निर्वाचनसम्म गठबन्धन टिकाउनुपर्ने एकिकृत समाजवादीको मत
नेकपा एकीकृत समाजवादीले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्नु धारणा अघि सारेको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा गठबन्धनको एकतामा जोड दिइएको हो । वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नुपर्नेमा एकिकृत समाजावादीले जोड दिएको छ ।

५ दिनमा २१ करोड बजेट खर्च
चालु आर्थिक वर्ष २०७८\७८ को बजेट पास हुन नसकेपछि सरकारको खर्च रोकिएको ५ दिनको अवधिमै २१ करोड रुपैयाँ बजेट खर्च भएको छ । बजेट पास नभएको अवस्थामा पनि संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम सरकारले निरन्तर खर्च गर्न पाउने प्रावधान अनुसार यो खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेट खर्च गर्न पाउने दिन भदौ ३० सम्म कुल बजेट खर्च ८९ अर्ब ७३ करोड ५ लाख रुपैयाँ रहेकोमा त्यसयताको ५ दिन (सोमबारसम्म) २० करोड ९७ लाख रुपैयाँ खर्च भई कुल ८९ अर्ब ९४ करोड २ लाख रुपैयाँ बजेट खर्च भएको हो । बजेट होलिडेमा राजश्व संकलनमा भने कुनै प्रभाव परेको छैन । ५ दिनको अवधीमा सरकारले ११ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा यस्तो छ कोरोना संक्रमणको अवस्था
मंगलबार देशभर थप १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६२२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ८६ हजार ५७७ जना र एन्टिजेन विधिबाट ८९ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेकोमा २० हजार १६४ जना होम आइसोलेसन, १ हजार ३६० जना संस्थागत आइसोलेसनमा छन् । ३३५ जना आईसीयूमा तथा १०७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ८३० जना निको भएकोमा थप ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पूर्ण खोप लगाउनेको संख्या ५६ लाख २८ हजार ७९२ पुगेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ६२ लाख ३० हजार ८२३ रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ