Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बुधबार दिनभर के–के भयो, यी हुन प्रमुख ५ खबर

नेपालमा बुधबार दिनभर के–के भयो, यी हुन प्रमुख ५ खबर


काठमाडौं । प्रधानमन्त्री बनेको ७२ दिनसम्म पनि सरकारले पूर्णता पाउन नसकेको नेपालमा सत्तारुढ दल नेपाली कांग्रेसको महाधिबेशनको मिति बारम्बार प्रभावित भैरहेको छ । ४० वर्ष माथीका सबै नागरिकको पिसाब जाँचदेखी कोरोना विरुद्धको खोपसम्मका प्रमुख ५ खबरहरु यस्ता छन् ।

सरकार विस्तारको तयारिमा गठबन्धन दलहरु
गठबन्धन सरकारलाई स्थायित्व दिने नाममा जारी गरिएको दल विभाजन सम्बन्धी अध्यादेश अहिले गठबन्धनका दलहरुलाई नै घाँडो बनेको छ । गठबन्धनमा सामेल जसपाले अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने अडान राख्दा नेकपा एकीकृत समाजवादीले सर्वोच्च अदालतमा परेको मुद्धा किनारा नलागेसम्म खारेज गर्न नहुने अडानमा छ । गठबन्धन दलको आ–आफ्नै अडानका कारण सरकार गठन भएको ७२ दिन बित्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारले पूर्णता पाउन नसक्दा चौतर्फी आलोचना भैरहेको छ । गठबन्धन सरकारलाई संसदको पुरै आयुसम्म चलाउन सजिलो होस् भनेर दल विभाजन सम्बन्धी अध्यादेश जारी गरिएकै कारण नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टीले कानूनी मान्यता पाइसकेका छन् । अब प्रधानमन्त्री देउवा गठबन्धनको सहमतिमा बिहिबारको प्रतिनिधिसभा बैठकमा राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएर सरकारलाई पुर्णता दिने तयारीमा जुट्नुभएको छ ।

फेरि नेपाली कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर
नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको हो । यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचन गर्ने तालिका बनाइएको थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ । काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका सबै अधिवेशन सक्नुपर्ने वाध्यता छ ।

४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गरिने
सरकारले ४० वर्ष उमेर समूहमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने निर्णय गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा कृष्ण पौड्यालले मिर्गौला रोगबाट जोगाउन पूर्वसुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको जानकारी दिनुभएको हो । देशका प्रत्येक वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको बताइएको छ । ४० वर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्न प्रतिव्यक्ति ५० रूपैयाँका दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने आँकलन गरिएको छ । छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाएका छन् । असोज ४ गतेसम्म उपत्यकामा ४० प्रतिशतले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौँमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेका छन् । यस्तै सरकारले असोज अन्तिमसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाइसक्ने योजना बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत अन्तिमसम्म सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । हालसम्म बागमती प्रदेशमा मात्रै २९ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज खोप लगाएका छन् ।

सबै मुलुकसँग सन्तुलित सम्बन्धः परराष्ट्रमन्त्री खड्का
न्वनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम राखिने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खड्काले सबै राजनीतिक दलहरुको सहमतिका आधारमा मुलुकको परराष्ट्र नीति सञ्चालन गरिने जानकारी दिनुभयो । मन्त्री खड्काले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता ‘मिलिनियम कर्पाेरेसन च्यालेन्ज (एमसिसी)’ र हिन्द–प्रशान्त रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने स्पष्ट पार्नुभयो । बुधबार साँझ नै संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ